ओलम्पिक सार्ने आईओसीको तयारी

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, ११ : ४५
ओलम्पिक सार्ने आईओसीको तयारी

एजेन्सी । कोरोना भाईरस (कोभिड—१९) को कारण आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुन लागेको टोकियो ओलम्पिक गेम्स सारिने तयारी गरिएको छ । ओलम्पिक गेम्स स्थगित गर्न विश्वब्यापी दबाब बढेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले नयाँ निर्णयको लागि कम्तीमा चार साता धैर्य गर्न आग्रह गरेको छ ।

आइतबार बसेको आईओसी कार्यकारी बोर्डले ओलम्पिक सार्ने विषयमा बृहत छलफल गरेर अर्को कदम चालिने जनाएको छ । ‘ओलम्पिक स्थगित गर्न नयाँ योजना र मितिको आवश्यकता हुन्छ । त्यसका लाथि थप छलफल गर्न आवश्यक छ,’ आईओसीले भनेको छ । आईओसीलाई ओलम्पिक सार्नका लागि विश्वभरका एथलेटिक्स संघ र राष्ट्रिय ओलम्पिक कमिटिले दबाब दिँदै आएका छन् ।
यही दबाबबीच आईओसीको कार्यकारी बोर्ड बैठक आईतबार बसेको थियो । विश्वभरको दबाबलाई मध्यनजर गर्दै आईओसीले नयाँ निर्णय गर्न चार साताको समय लिएको हो । ओलम्पिक तत्कालका लागि स्थगन गर्न आईओसी सकारात्मक देखिएको छ । तर, ओलम्पिक गेम्स केही महिना वा एक बर्षपछि सार्ने भन्ने विषयमा आईओसीले पुनः छलफल गरेर निर्णय गर्ने बताईएको छ ।

कोरोनाको संक्रमणमा खेल्न नसक्ने भन्दै क्यानाडाले ओलम्पिक बहिस्कार नै गर्ने जनाएको छ । यसअघि अमेरिका र बेलायतका पदाधिकारीले ओलम्पिक सारिनु पर्ने प्रस्ताव राख्दै पहिलो प्राथमिकता ब्यक्तिको स्वास्थ्य र जीवन भएको धारणा राखेका थिए । आईओसी कार्यकारी बोर्डमा विश्वका अधिकांश देशले ओलम्पिक गेम्स सारिनु पर्ने दबाब दिएका थिए ।

आयोजक जापानले भने ओलम्पिक सन् २०२० जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म तोकिएकै समयमा गर्न आफु तयार भएको दावी गर्दै आएको छ । हालै जापानका प्रधानमन्त्री सिन्जो आबेले टोकियो ओलम्पिक निर्धारित समयमै योजनाबद्ध तरिकाले सम्पन्न गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस