कोरोना भाइरस सन्त्रास

नौं दिन यता ११ लाख बढीले उपत्यका छाडे, सात लाख भित्रिए

चैत ६ गतेदेखि उपत्यका छाड्ने ह्वात्तै बढे

सफल खबर संवाददाता

सोमबार, १० चैत्र २०७६, १० : २०
नौं दिन यता ११ लाख बढीले उपत्यका छाडे, सात लाख भित्रिए

काठमाडौँ । चैत महिलाको नौ दिनमा काठमाडौँ उपत्यकाबाट ११ लाख ४० हजार यात्रु बाहिरिएका छन् । उक्त समयमा ६ लाख ९३ हजार यात्रु भित्रिएका छन् । पहिलो हप्ताको पाँच गतेसम्म यात्रु बाहिरिने र भित्रिने क्रम बराबर जस्तै रहेपछि ६ गतेदेखि भने बाहिरिने क्रम ह्वात्तै बढेको छ ।

कोरोना भाइरस संक्रमणको त्रासले छ गतेपछिको चार दिनमा मात्रै झण्डै सात लाख मानिस राजधानीबाट बाहिरिएका छन् । यो अबधीमा राजधानी भित्रिने संख्या भने साँढे दुई लाख मात्रै भित्रिएका छन् ।  आइतबार रातीसम्म ३८ हजार ४३८ सवारी साधन बाहिरिएको छ । त्यसमा दुई लाख ६१ हजार यात्रु बाहिरिएका हुन् । भित्रिने संख्या भने कम छ । आज १६ हजार ७४७ गाडी भित्रिएको र त्यसमा ४६ हजार यात्रु आएको प्रहरीले जनाएको छ । 

शनिबार दुई लाख ६ हजार यात्रुले र शुक्रबार एक लाख ३० हजारले उपत्यका छाडेका थिए । सरकारले यही चैत ५ गते कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन माध्यमिक शिक्षा परीक्षा (एसइई) अनिश्चितकालका लागि स्थगन गरेको थियो । यस्तै आवश्यक सावधानी अपनाउँदै सबै शैक्षिक संस्थासमेत बन्द गरेको थियो । त्यसपछि राजधानी छाड्ने क्रम ह्वात्तै बढेको हो । 

बसपार्क तथा टिकट काउन्टरलगायत विभिन्न चोकमा अझै पनि मानिसको भिडभाड भने कायमै छ । प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सम्भावित भिडभाड रोक्न प्रहरी टोली थप परिचालन गरिएको जानकारी दिनुभयो । 
 

प्रतिक्रिया दिनुहोस