कोरोना त्रास : व्यवसायी नै सेल्फ क्वारेन्टाइनमा

रासस

आइतबार, ०९ चैत्र २०७६, १७ : ५०
कोरोना त्रास  : व्यवसायी नै सेल्फ क्वारेन्टाइनमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधनका क्रममा आइतबारदेखि विशेष सतर्कता अपनाउने आग्रह गरेसँगै व्यवसायी सेल्फ क्यारेन्टाइनमा बस्ने भएका छन् ।  सरकारले नै विशेष सतर्कता अपनाउन आग्रह गरेसँगै व्यवसायीले व्यापारिक गतिविधि रोक्ने निर्णय गरेको बताएका छन् । व्यवसायी सङ्घहरुले आफूमातहतका व्यवसायीलाई यही चैत २१ गतेसम्म सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

राष्ट्रिय व्यापार सङ्घ तथा नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घले आज विज्ञप्ति जारी गर्दै आफू निकटका व्यवसायीलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रहका साथ विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । व्यापार सङ्घले जारी गरेको विज्ञप्तिमा चैत ९ देखि २१ गतेसम्म आफ्ना सदस्य व्यवसायीलाई सरकारको निर्देशनानुसार आफ्नो सुरक्षाका लागि सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आफू सुरक्षित रही अरुलाई समेत सुरक्षित गराउन आग्रह गरिएको छ ।

जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घको विज्ञप्तिमा कोरोना भाइरसको महामारीबाट बच्न सम्पूर्ण उद्योगीव्यवसायीलाई सतर्क भई नेपाल सरकारले तोकेको समयावधिसम्म आआफ्नो व्यापारव्यवसाय तथा उद्योगकलकारखाना बन्द गरी अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरसफाइमा विशेष ध्यान दिन भनिएको छ ।