कोरोना भाइरस सन्त्रास

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई भन्यो,– ‘भारतसँगको सीमा तत्काल बन्द गर’

आइतबार, ०९ चैत्र २०७६, ०९ : १९
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई भन्यो,– ‘भारतसँगको सीमा तत्काल बन्द गर’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतसँग जोडिएका सीमा तत्काल बन्द गर्न नेपाललाई आग्रह गरेको छ । उसले दुई देश बीचको सीमा नाका जोखिमपूर्ण रहेको भन्दै सीमा नाका बन्द गरिहाल्न सुझाएको हो । डब्लुएचओले गरेको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक डा. टेड्रोसले त्यस्तो बताएका हुन् ।

नेपाल जस्तो कमजोर स्वास्थ्य अवस्थामा रहेको देशमा अहिलेसम्म कोरोना नदेखिएको र कोरोना रोकथामका लागि नेपालले के गर्नुपर्ला भनी पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै महानिर्देशक डा टेड्रोसले तत्कालै भारतसँग जोडिएका सिमा बन्द गरिहाल्न सुझाव दिएको हो ।  उनले जो आउँछन् नाकाबाट, उनीहरुको स्वास्थ्य परीक्षण गरेर १४ दिने क्वारेन्टाइनमा लगिहाल्न पनि भनेका छन् ।

‘नेपालमा तयारीको अवसर छ अहिले । भोलि संक्रमण फैलिहालेको खण्डमा आपतकालीन संरचनातिर ध्यान दिनुपर्छ । म त फेरि पनि के भन्छु भने यसको महत्वपूर्ण पक्ष भनेको आफूले आफैंलाई जोगाउने हो । हुलमुलमा नजाने, हात नमिलाउने र घरमै बस्ने । राज्य बोलेर मात्र हुँदैन । राज्यको तर्फबाट तयारी हुनैपर्छ । अर्काेतिर जनताले पनि राज्यले भनेको मान्नुपर्छ । संक्रमित हुनबाट जोगिने उत्तम उपाय घरमै बस्नु हो । घरमै बस्नुपर्छ । अनि भाइरस नियन्त्रणमा आउन सक्छ । नेपाल र भारत बीचको सीमा नाका बन्द तत्काल गरिहाल्नुपर्छ ।’

चीनको उहान शहरबाट शुरु भएको यो महामारीले अहिले युरोपलाई आक्रान्त पारेको छ । चीनमा कोरोनाको संक्रमण घट्ने क्रममा रहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले इटालीलाई नयाँ ‘इपिसेन्टर’ तोकेको छ । नेपाल जस्ता मुलुकको तयारीलाई कसरी हेरिएको छ भन्ने थप अर्काे प्रश्नमा डब्लुएचओका महानिर्देशक डा टेड्रोसले भने,–‘मानिसलाई कोरोना लाग्यो कि मरिन्छ भन्ने भ्रम फैलिएको छ । त्यसो होइन ।

कोरोना शरीरमा पसेपछि देखिदै नदेखिन पनि सक्छ । देखिए नियन्त्रण भएर जीवन सामान्य पनि हुन्छ । कमजोर स्वास्थ्यस्थिति खासगरी श्वासप्रश्वासका रोगीमा यसले बढी असर गर्ने हो । नेपालले सक्दो तयारी गरेका खबर आइरहेका छन् । अस्पतालसम्म कतिपय केसहरु नआएका पनि हुनसक्छन् । प्रतिरोध क्षमता बलियो भएकोले सहयोग गरेको पनि हुनसक्छ । अहिलेसम्म महामारी नदेखिनु साह्रै राम्रो कुरा हो तर यसो भन्दैमा ढुक्क हुनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस