पैसा नदिएको रिसमा इँटाले टाउकोमा प्रहार गरी बालकको हत्या

शुक्रबार, ०७ चैत्र २०७६, १५ : १०
पैसा नदिएको रिसमा इँटाले टाउकोमा प्रहार गरी बालकको हत्या

रुपन्देही । रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ । ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यही चैत ४ गते बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ गते मात्रै ओमसतीयाको खेतमा शव फेला परेको थियो । बिहान करिब ११.३० बजे स्थानीयवासीले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । सिक्टहन माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत हरिजनलाई विद्यालयले रु चार सय छात्रवृत्ति रकम प्रदान गरेको थियो ।

सोही रकम नदिएको रिसमा स्थानीय १५ वर्षीय बालकले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिनुभयो । उनले बाबुसँगको मिलेमतोमा आकाशको हत्या गरेको आशङ्कामा प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

“आरोपीले विद्यालयले दिएको रकम आफूलाई दिन ललाइफकाई गर्दा पनि आकाशले नदिएपछि इँटाले हानेर हत्या गरेको स्वीकार गरेका छन्, १५ वर्षको मात्रै भएका कारण नाम सार्वजनिक गरिएको छैन”, उहाँले भन्नुभयो । हत्याको आशङ्कामा आकाशका परिवारजनले किटानी जाहेरीसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस