कोरोना भाइरस (कोभिड–१९)

भरतपुरमा ७२ घण्टामै बन्यो अस्थायी अस्पताल (फोटो फिचर)

सफल खबर संवाददाता

विहीबार, ०६ चैत्र २०७६, १५ : २१
भरतपुरमा ७२ घण्टामै बन्यो अस्थायी अस्पताल (फोटो फिचर)

चितवन । सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै चितवनको  भरतपुरमा ७२ घण्टामै अस्पताल बनेको छ । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्थायी अस्पताल निर्माण सम्पन्न गरिएको हो । 

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा  ‘भरतपुर कोरोना विशेष अस्पताल’ बनाएको अस्पतालका प्राविधिक संयोजक वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाइएको हो । आइसीयू र एचडीयू बेड तयार गर्न केही दिन लाग्ने भएपनि अन्य बेड बिहीबार नै तयार पारिएको छ । 

कोरोना फैलिएपछि छिमेकी मुलक चीनले उहान शहरमा १० दिनमा एकहजार बेडको अस्पताल बनाएर विश्वलाई चकित बनाएको थियो । भरतपुरमा पनि त्यसकै झल्को दिने गरी ७२ घण्टामा ७० बेडको अस्पताल निर्माण गरिएको हो । उक्त अस्पताल शुक्रबारबाट विरामी भर्ना गर्न मिल्ने तयार पारिएको हो । 

संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउन अस्थायी अस्पताल बनाउन लागिएको संघले जनाएको छ । कोरोनाको शंका लागेका बिरामीलाई मात्र त्यहाँ राखिने छ ।

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले महानगरको उद्देश्य अनुसार निर्धारित समयमै अस्पताल निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । सफल खबरसँग कुराकानी गर्दै मेयर दाहालले ५० वेड तयार भैसकेको बताउनु भयो । उहाँले बाँकी आइसियु लगायतका बेड २,३ दिनभित्र तयार हुने जानकारी दिनुभयो । 

उहाँले उक्त अस्पतालमा भरतपुर महानगरपालिकाबाहेक देशभरका विरामीलाई सेवा प्रवाह गर्न सक्ने भन्दै अस्पताल निर्माणमा सहयोग गर्ने स्थानीय जनता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र व्यवसायीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । 

महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको अस्पतालमा आठ वटा भ्यान्टिलेटरका लागि प्रदेश सरकार र संघीय सरकारसँग कुराकानी भैरहेको मेयर दाहालको भनाइ छ । 

अस्पतालका प्राविधिक संयोजक अधिकारीले ७० बेडबाट विस्तार गरेर ३ सय बेडसम्मको अस्पताल बनाउन सकिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस