पुस्तक समीक्षा : शास्त्रलाई नै चुनौती ‘कुमाता’

सूर्यप्रकाश कँडेल

विहीबार, ०६ चैत्र २०७६, १३ : ०३
पुस्तक समीक्षा : शास्त्रलाई नै चुनौती ‘कुमाता’

चितवन । शास्त्रमा भनिएको छ, ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति’ अर्थात् ‘सन्तान कुपुत्र हुन सक्ला तर आमा कहिल्यै कुमाता हुन सक्दिनन् ।’ शास्त्रलाई नै चुनौती दिँदै चितवन निवासी पत्रकार वसन्त पराजुलीले कुमाता नामक कथा संग्रह बजारमा ल्याएका छन् । दस दिनअघि लेखक पराजुलीले गैँडाकोटमा कुमाताको विमोचन गराए आफ्नी माता गोमा पराजुली र आख्यानकार श्रीओम श्रेष्ठ रोदनको हातबाट । भुँडी पुराण प्रकाशन प्रा. लि. ले बजारमा ल्याएको कुमाताभित्र दस वटा छोटा कथा समावेश छन् ।

अक्षर समूह चितवनले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै साहित्य समीक्षक डा. एकनारायण पौडेलले लेखककी आमातर्फ हेर्दै भनेका थिए, ‘छोराले कुमाता लेख्यो भनेर चिन्ता नलिनु आमा, तपाईं सुमाता हुनुहुन्छ ।’ कवि डाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले मन्तव्यका क्रममा लेखकलाई प्रश्न गरे, ‘कुमाता किन जन्माइयो ? कुमाता कथाभित्रकी मातालाई सुमाता किन बनाइएन ?’

लेखक पराजुलीले कुमाताबारे प्रष्टीकरण दिँदै भने, ‘कुमाता शीर्षकको कथामा कुमारी आमाले समाजको डर मान्दै नवजात शिशुको घाँटी अँठ्याएर मारेको हुँदा कुमाता भनिएको हो । कुमाता शब्दले मनमा चिसो पसेको छ भने म सबै माताहरुसँग माफी माग्न चाहन्छु ।’ लेखकले सजिलै माफी मागे पनि पात्रमाथि त अन्याय भयो नै । कुमारी आमा हुँदैमा पात्रमार्फत् नवजात शिशुको हत्या गराउनु लेखकको कमजोरी हो । लेखकले एक वर्षभित्र लेखेका दस वटा कथा समेटेर पुस्तक निकाल्न हतारो गर्दा यस्तो भएको हो भन्ने मेरो ठम्याई छ ।

लेखकलाई कृति प्रकाशनमा हतार नगर्न सुझाव दिँदै पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि आख्यानकार श्रीओम श्रेष्ठ रोदनले भनेका थिए, ‘तालीले जस्तो बिगार्ने काम अरु केहीले गर्न सक्दैन । मेरा ११ वटा कृति प्रकाशित भएका छन् । अहिले कृति निकाल्न डर लाग्छ । एक दुई वटा पुरस्कारले थिचिएको छु । लेखकले कृति निकाल्न कहिल्यै हतार गर्न हुँदैन ।’ तर पत्रकार पराजुलीले कृति निकाल्न यति हतार गरे कि पुस्तकको सम्पादन नै राम्रोसँग भएको छैन । 

स्वस्थानी शैलीमा लेखिएका कथाहरु साहित्यिक स्वादविहीन छन् । कथा पढ्दै जाँदा भाषिक अशुद्धि भातको गासमा भेटिएका बियाँ महसुस हुन्छ पाठकलाई । कुमाताभित्रका कथा राम्रा छन्, प्रस्तुति फितलो छ । पत्रकारबाट आफूलाई लेखकको कित्तामा उभ्याएका पराजुलीका आगामी कृति परिस्कृत आऊन् । पराजुलीको लेखनी माझिँदै जाओस्, शुभकामना ।

प्रतिक्रिया दिनुहोस