कोरोना संक्रमणको त्रासले इरानले थप कैदी बन्दी रिहा गर्दै

विहीबार, ०६ चैत्र २०७६, १० : १३
कोरोना संक्रमणको त्रासले इरानले थप कैदी बन्दी रिहा गर्दै

एजेन्सी । कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासमा रहेको इरानले थप कैदी–बन्दीलाई रिहा गर्ने भएको छ । इरानले थप १० हजार कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेको छ। यसरी रिहा गरिनेमा राजनीतिक बन्दीहरु पनि छन् ।

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले माफी दिएपछि कैदी–बन्दीलाई शुक्रबार रिहा गर्ने तयारी रहेको जनाइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बिस्तार हुने केन्द्रका रुपमा क्षमता भन्दा बढी कैदी–बन्दी रहेका जेलहरु विकसित हुन सक्ने डरका कारण इरानले यस्तो निर्णय लिएको हो । गएको मंगलबार इरानले झण्डै ८५ हजार मानिसलाई जेलबाट रिहा गरेको थियो ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश मध्ये एक रहेको इरानमा अहिलेसम्म १७ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । इरानमा हालसम्म ११ सय भन्दा बढी मानिसको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।