सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच किन बढ्यो मनमुटाव ?

विहीबार, ०६ चैत्र २०७६, ०७ : ३२
सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच किन बढ्यो मनमुटाव ?

काठमाडौं । सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ । सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई तोकेपछि त्यसमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन् ।

सभामुख सापकोटाले बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका विभिन्न समितिका सभापति, सभामुख र अध्यक्षबीच छलफल राखेकामा मनमुटावको प्रभाव देखिएको छ । अध्यक्ष तिमिल्सिनाले सो बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएर असन्तुष्टि जनाए । उनले राष्ट्रिय सभाअन्तर्गतका समिति सभापतिलाई पनि बैठकमा नजान सल्लाह दिएको बताइएको छ ।

‘अध्यक्षज्यूले कार्यवाहक महासचिवको विषयमा सरसल्लाह भएन भनेर भन्नुभयो,’ राष्ट्रिय सभाको दिगो विकास सुशासन समितिकी सभापति तारादेवी भट्टले भनिन् । अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा र प्रतिनिधि सभाका धेरै समितिका सभापति नआउने भएपछि सभामुख सापकोटाले बुधबारको बैठक स्थगित गरेका छन् ।

सभामुख सापकोटाले २ चैतमा प्रतिनिधिसभाका सचिव योगीलाई ‘संघीय संसद्को महासचिव भई कामकाज गर्न तोकेको’ पत्र दिएका थिए । सो पत्रमा ‘राष्ट्रिय सभा अध्यक्षको परामर्शमा कार्यवाहक तोकिएको’ भन्ने उल्लेख थियो ।
आफूसँग परामर्श नगरी, पत्रमा गरेको भनेकामा तिमिल्सिनाले सभामुख सापकोटासँग आपत्ति जनाएका हुन् । योगीलाई कार्यवाहक तोकिएपछि रिसाएका तिमिल्सिनालाई भेट्न सभामुख सापकोटा मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका थिए ।

‘सभामुख सापकोटासँगको भेटमा अध्यक्षज्यूले आफूसँग परामर्श नगरी योगीलाई कार्यवाहक तोकिएकामा आपत्ति जनाउनुभयो,’ अध्यक्ष तिमिल्सिना निकट स्रोतले भन्यो । स्रोतका अनुसार अध्यक्ष तिमिल्सिनाले महासचिवको योग्यतामा उल्लेख भएको उमेरको विषय र कानुनी प्रश्न हेर्न मात्रै भनेका थिए । योगी प्रतिनिधिसभाको सचिव बन्दा पूर्वमाओवादीले सिफारिस गरेको थियो । संघीय संसद्को महासचिव र सचिवको नियुक्ति तथा योग्यतासम्बन्धी कानुनमा महासचिव बन्न ४५ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ । योगीको उमेर ४५ पुग्न अझै १५ महिना बाँकी छ । पूर्वएमालेको सिफारिसमा राष्ट्रिय सभा सचिव बनेका राजेन्द्र फुयाँल पनि ४५ वर्ष पुगेका छैनन् । उनी अहिले ४१ वर्षका मात्र छन् ।

आफ्नो सिफारिसमा नियुक्त सचिवको योग्यतामा उमेर बाधक बनेपछि पूर्वएमाले वृत्तमा बाहिरबाट महासचिव नियुक्त गर्नुपर्ने मत बलियो रूपमा उठेको छ ।स्रोतका अनुसार संघीय संसद्को महासचिव बन्ने दौडमा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी छन् । कानुनमा स्नातकोत्तर गरेका अधिकारीलाई महासचिव बनाउन राष्ट्रपतिले नेताहरूसँग परामर्श थालेको स्रोतले बतायो । संघीय संसद् सचिवालयका दुई सचिव भरतराज गौतम र ध्रुव घिमिरे महासचिवको दौडमा छन् । मनोहरप्रसाद भट्टराईले महासचिवबाट अवकाश पाएपछि अहिले सो पद रिक्त छ ।

प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल र अधिवक्ता टीकाराम भट्टराईको महासचिवका रूपमा चर्चा छ । स्रोतका अनुसार भट्टराईले सभामुखमा सापकोटालाई चयनको विरोध गरेकाले उनको सम्भावना छैन । दाहालको नाम चर्चामा भए पनि उनी प्रत्यक्ष लबिङमा जुटेका छैनन् । संघीय संसद् सचिवालयका दुई सचिवले भने बाहिरबाट महासचिव ल्याइए असहयोग गर्ने प्रस्ट सन्देश प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई दिएका छन् ।
‘२५ वर्ष काम गरेका कर्मचारीलाई महासचिव नबनाउने हो भने कर्मचारीले के आधारमा काम गर्छन् ?’ सचिवालयका सचिवहरूले सभामुख र अध्यक्षसँग गरेको कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँहरूले बाहिरबाट ल्याइए असहयोग गर्ने बताउनुभएको छ ।’ सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवादको असर संघीय संसद्को महासचिव नियुक्तिमा परेको छ । पूर्वमाओवादी पक्षले योगीलाई १५ महिना कार्यवाहक तोकेर पछि महासचिवमा नियुक्ति गर्ने तयारी गरिरहेको छ । पूर्वएमाले पक्षधर भने महासचिवमा पूर्वमाओवादीलाई रोक्न जुटेको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस