उपत्यका ट्राफिकको तीन महिने अभियान : एक लाख १९ हजारलाई प्रशिक्षण

मंगलबार, ०४ चैत्र २०७६, १६ : ४०
उपत्यका ट्राफिकको तीन महिने अभियान : एक लाख १९ हजारलाई प्रशिक्षण

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘समुदाय–प्रहरी साझेदारी’अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालक र सहचालक, स्कुल र कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न थालेको ३ महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत एक लाख २९ हजार बढीलाई सचेत बनाएको छ । 

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अभियानका क्रममा सडक प्रयोगकर्तालाई सडकमै गएर मात्र नभई घर घरमा, स्कुल कलेजमा, खेल मैदान आदिमा गएर विभिन्न लक्षित वर्गलाई पायक पर्ने स्थानमा ट्राफिक नियम र सडक अनुशासनबारे छर्लङ्गै हुने गरी ‘कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरिएको बताए ।   

प्रवक्ता श्रेष्ठका अनुसार यस ३ महिने अभियानमा सार्वजनिक भाडाका सवारी चालक र सहचालक १९ हजार ५६९ जना, निजी सवारी चालक १ हजार ९५६ जना, मोटरसाइकल चालक २६ हजार ९२० जना, सिंहदरबारस्थित विभिन्न मन्त्रालयका सरकारी चालक ६१२, नेपाली सेनाका चालकहरू ५७, पैदलयात्री र सर्वसाधरण गरी ६२ हजार ८०१ जना, संघसंस्थाका १ हजार ८१७ जना र १५ हजार ७८१ विद्यार्थीलाई ट्राफिक नियम र सडक अनुशासनबारे प्रशिक्षण दिइएको छ ।

यस अभियानमार्फत दैनिक रूपमा महाशाखा र मातहतका ४० इकाइबाट ट्राफिक नियमसम्बन्धी पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना दिएको थियो । सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कूल र कलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा दिएको जानकारी दिइएको महाशाखाका प्रमुख एसएसपी भमिप्रसाद ढकालले बताए ।

सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाउनुका साथै लक्षित वर्गको माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेटसमेत वितरण गरेका उनले बताए ।

जथाभावी बाटो काट्ने २० हजारलाई कक्षा

अन्तर्गत पैदलयात्री सुरक्षा अभियानमार्फत रहेर १९ हजार ९९८ जना जथाभावी बाटो काट्ने पैदलयात्रीलाई सोही स्थानमै २० मिनेटको सचेतना कक्षा प्रदान गरिएको छ । महाशाखाले पैदलयात्रीलाई आकाशेपुल र जेब्राक्रसिङको प्रयोग गर्न उपत्यकाको ३ स्थानमा नियमित रूपमा घोडा समेत परिचालन गर्ने गरेको छ । यसबाट नियम उल्लंघनको क्रम घटेको छ ।  

ट्राफिक उज्यालो अभियानअन्तर्गत रहेर गीत संगीतको माध्यमबाट जेब्राक्रसिङ्ग र आकाशेपुलको प्रयोग, सडक संकेतको पालना, मापसे गरी सवारी नहाक्न, तीब्र गति र लापरबाहीका साथ सवारी नचलाउन अनुरोध गरी ट्राफिक नियमको पालना र प्रवृत्तिको विकासको लागि उपत्यकाको मुख्य–मुख्य चोकमा सारङ्गी टोली परिचालन गरी ७ हजार ७०० व्यक्तिलाई सचेतना प्रदान गरिएको महाशाखाले जनाएको छ ।

प्लेकार्ड देखाएरै सचेतना

उपत्यकाको व्यस्त ४७ वटा चोकहरूमा ट्राफिक पालोमा बसेका चालकहरू तथा जेब्राक्रसिङ्गलाई लक्षित गरि ट्राफिक नियम लेखिएको व्यानर देखाउने काम समेत गरिएको छ । यस्तै दैनिक रूपमा मापसे गरी सवारी चलाउने ९ हजार ५६९, लेन अनुशासन पालना नगर्ने चालकहरू ८ हजार २६९ र सवारी दुर्घटना गर्ने १०० जना गरी जम्मा १७ हजार ९३८ लाई पनि दैनिक रूपमा महाशाखाले सचेतना कक्षा समेत दिएको छ ।

ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म र्पुयाउन, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्न, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउन, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन यो अभियान सफल भएको छ । 
यही थप उत्साहित हुदै फेरि पनि चैत्र १ गतेदेखि विशिष्टीकृत रूपमा यस अभियानलाई निरन्तरता दिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस ३ महिने विशेष ट्राफिक उज्यालो अभियान यही पुस १ गते विशेष कार्यक्रम गरी सुरु भएको थियो  ।