राष्ट्रपतिका स्वकिय सचिवलाई संसदको महासचिवमा अघि सार्ने तयारी !

मंगलबार, ०४ चैत्र २०७६, ०८ : ५५
राष्ट्रपतिका स्वकिय सचिवलाई संसदको महासचिवमा अघि सार्ने तयारी !

काठमाडौं । संसदको महासचिव पद ३ चैतबाट रिक्त छ । कार्यवाहक महासचिवको जिम्मा पाएका छन्, गोपालनाथ योगीले । सभामुख अग्नि सापकोटाले योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन् । सभामुखले योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएपनि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले असन्तुष्टि जनाएका छन् ।

तिमिल्सनाको असन्तुष्टिले देखाउँछ,–संसदको महासचिवका लागि नेकपाका ओली पक्षधर नेताहरु आफु निकट ब्यक्तिलाई महासचिवमा अगाडी सार्न चाहन्छन् । संसदको महासचिव प्रतिनिधी सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमील्सनाको सहमतिका आधारमा दुवैले गर्ने सिफारिसका आधारमा राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने सम्वैधानिक प्रवाधान छ ।

राष्ट्रिय सभाको महासचिव राजनीतिक नियुक्तिको पद हो । सभामुख सापकोटा नेकपा अध्यक्ष प्रचण्ड निकट र राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिना प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली निकटका नेता हुन् । नेकपाभित्र ओली प्रचण्डका बीचमा अन्तरविरोध बढिरहेका बेला संसदको महासचिव अब को भन्नेमा पनि दुबैका रुचीका पात्र फरक फरक हुन सक्ने देखिएको छ ।

सभामुख सापकोटा आफ्नो स्पिरिट मिल्ने खालको अग्रगामी महासचिवको खोजीमा छन् । तर ओली पक्षले भने अध्यक्ष दाहालको रुचीका पात्रलाई रोक्नका लागि राष्ट्रपतिकै प्रमुख स्वकिय सचिव डा. भेषराज अधिकारीलाई संसदको महासचिवका रुपमा अगाडी सार्ने तयारी गरेको स्रोतले बताएको छ । राष्ट्रपतिकै प्रमुख स्वकिय सचिवलाई अगाडी सार्दा प्रचण्डले अन्य पात्रको खोजी गरेपनि राष्ट्रपतिले विवाद देखाएर नियुक्त नगर्ने ठानेर ओली पक्षधरले डा. अधिकारीलाई अगाडी सार्ने तयारी थालेको देखिन्छ ।

संसदमै हाल सचिव रहेका डा. भरतराज गौतम, राजेन्द्र फूयाल र गोपालनाथ योगी मध्येबाट महासचिव बनाउने योजनामा कोही देखिएका छैनन् । उनीहरुको उमेर नपुग्ने देखेपछि पनि नयाँ महासचिवको खोजी संसदमा हुन थालेको हो । नेकपा संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ यसमा अलिक बढी खेल्न खोजिरहेका छन् । उनले सापकोटा र पूर्व माओवादी धारका नेताहरुका सिफारिसका ब्यक्तिलाई संसदको महासचिवमा आउन नदिनका लागि अहिले विभिन्न लविङ थालेका छन् । 

सभामुख सापकोटा र अध्यक्ष तिमिल्सनालाई आफुसँगको परामर्शका आधारमा मात्र महासचिव सिफारिस गराउन उनले विभिन्न च्यानल प्रयोग गरेर सन्देश पठाईरहेका छन् । सभामुख सापकोटाले कार्यवाहक महासचिवमा योगीलाई अगाडी सारेको पनि नेम्वाङलाई चित्त बुझेको छैन् । उनी गौतमलाई कार्यवाहक महासचिव दिनुपर्ने तर योगीलाई दिएको कार्यवाहक जिम्मेवारी कानुनसंगत नभएको तर्क गर्न थालेका छन् । 

सोमबार उनले सिंहदरबारस्थिन नेकपा संसदीय दलको आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग योगीको जिम्मेवारी कानुन सम्मत नभएको भन्दै कथा हालेर बसेका थिए । सभामुख सापकोटा भने डा. अधिकारीलाई सिफारिस गर्ने पक्षमा छैनन् । उनी नयाँ महासचिवको खोजीमा छन् । सोमबार उनले यस विषयमा केही राजनीतिक दलका नेताहरुसँग पनि गोप्य परामर्श गरेको सुत्र बताउँछ ।

पार्टीभित्र अल्पमतमा पर्दै जान थालेपछि प्रधानमन्त्री ओलीले आफु नदबिन खोजेको र पार्टी, सरकार र संसदमा आफनो प्रभुत्व कायमै रहेको सन्देश दिन पनि संसदको महासचिवमा आफु निकट ब्यक्तिलाई नै सिफारिस गराउन चाहिरहेका छन् । कदंकदाचित त्यो सम्भव नभए राष्ट्रपतिमार्फत नियुक्तिमा उल्झन हाल्ने तयारीमा समेत ओलीले नेम्वाङ मार्फत खेलिरहेका छन् ।

त्यही क्रममा ओली पक्षले डा. भेषराज अधिकारीलाई अगाडी सार्न खोजेको स्रोतले बताएको छ । तर अधिकारी सर्वसम्मत नाम भने होइनन । संसदको महासचिव को बन्लान् ? नेकपाभित्रको शक्ति समिकरणमा को प्रभावी बन्छन् भन्ने कुरा पनि संसदको महासचिवमा हुने सिफारिसले पनि केही छनक दिने नेकपाका सांसदहरुका बीचमा अहिले चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस