मास्क अपरेशन : एउटै समुहबाट १० लाख बरामद

सफल खबर संवाददाता

सोमबार, ०३ चैत्र २०७६, २० : ०६
मास्क अपरेशन : एउटै समुहबाट १० लाख बरामद

काठमाडौँ । प्रहरीले अहिले मास्क अपरेशन चलाइरहेको छ।  मस्क लुकाएर कालोबजारी हुन थालेपछि तीन दिनदेखि काठमाडौँ प्रहरी मास्कको पछि लागेको छ । पछिल्लो पटक एउटै समुहबाट प्रहरीले १० लाख ४० हजार मास्क बरामद गरेको छ । त्यो समुहका गिरोह पाँच जना समेत पक्राउ परेका छन् । तीन दिनमा प्रहरीले १२ लाख भन्दा बढी मास्क बरामद गरी १५ जनालाई पक्राउ गरिसकेको छ । 

पछिल्लो पटक काठमाडौँको कपन र सतुंगलबाट उनीहरुबाट १० लाख ८ हजार थान मास्क र बा ७ च ७२६३ नम्बरको गाडी बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । 

पक्राउ पर्नेहरुमा ओखलढुङ्गा घर भई ललितपुर ईमाडोल बस्ने ३० वर्षीय टेकराम श्रेष्ठ, बारा गढीमाई घर भई काठमाडौँ कपन बस्ने ३४ वर्षीय संजय रेग्मी, चितवन रत्ननगर नगरपालिका घर भई काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय अजिम बक्स मिया, आरडिजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक काठमाडौँ महानगरपालिका २३ बस्ने २४ वर्षीय सुरज गोयल र सोही सप्लायर्सका सञ्चालक भारत राजस्थान घर भई काठमाडौँ बागबजार बस्ने ३७ वर्षीय सुवास महेश्वरी रहेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस प्रकोपबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न नागरिकलाई अनुरोध भइरहेको समयमा बजारमा दैनिक उपभोग्य तथा औषधिजन्य सामानहरुको कृत्रिम अभाव खडा गरी कालोबजारी भइरहेको छ । 

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौं कपनस्थित मिलनचोकबाट उनीहरुलाई आइतबार साँझ एक लाख ६८ हजार थान मास्क र सो बेच्न प्रयोग भएको उक्त सवारी साधन बरामद गरिएको थियो । 

अनुसन्धानको क्रममा उनीहरुले काठमाडौँ चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीस्थित घर भाडामा लिई आरडिजी इन्टरनेशनल सप्लायर्सका नाममा गोदाम सञ्चालन गरेको जानकारी प्राप्त भएपछि सो गोदाम आइतबार नै सिल गरिएको थियो । आज जिल्ला प्रशासन कार्यालय र जनप्रतिनिधिको उपस्थितिमा सिल खोलेर हेर्दा थप आठ लाख ४० हजार थान मास्क बरामद भएको प्रहरीले जनाएको छ । 

उनीहरुले रु तीन रुपैयाँ २५ पैसा पर्ने उक्त मास्कलाई रु ३१ रुपैयाँ मूल्यमा बिक्री वितरण गर्न लागेको खुल्न आएको छ । उनीहरुलाई कालो बजारी तथा सामाजिक हित बिरुद्धको अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । यसअघि शुक्रबार र शनिवार पनि प्रहरीले झण्डै दुई लाख मास्कसहित ८ जनालाई पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस