‘घरेलु रक्सीले दुई सातामा ११ जनाको ज्यान लियो’

पत्रपत्रिकाबाट

शनिबार, ०१ चैत्र २०७६, ०६ : ५५
‘घरेलु रक्सीले दुई सातामा ११ जनाको ज्यान लियो’

सांकेतिक तस्बिर ।

जनकपुरधाम  । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको ज्यान गएको छ । तीमध्ये आठको बिहीबार र शुक्रबार मृत्यु भएको हो । मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा र नीरश यादव छन् ।

धनुषाकै रूपैठ घर भई रमदैयास्थित ससुरालीमा बस्दै आएका राजु महराको पनि मृत्यु भएको छ । शत्रुधन मण्डलको शुक्रबार साँझ जनकपुरको सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो । सबैको सुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर ज्यान गएको स्थानीयले बताएका छन् । 

मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् । ईश्वरको सिटी अस्पतालमै उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।  गाउँकै पसलमा प्राप्त घरेलु मदिरा सेवन गर्दा उनीहरूको मृत्यु भएको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले पनि उनीहरूले होलीमा अत्यधिक सेवन गर्दा ज्यान गएको बताए ।

‘उनीहरूले कुन मदिरा खाएको हो पुष्टि गर्न अनुसन्धान थालेका छौँ, स्थानीय केही पसलबाट मदिरा बरामद पनि गरेका छौँ,’ इन्स्पेक्टर नायकले भने, ‘बरामद मदिरा विषालु हो–होइन जाँच गर्न पठाएका छौँ ।’ प्रहरीले अवैध घरेलु मदिरा बेचेको आरोपमा स्थानीय रामनन्द साह र तारापट्टी भनिने छठियादेवी चौधरीलाई पक्राउसमेत गरेको छ । धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्की उनीहरूको मृत्युको कारणबारे अनुसन्धान सुरु भएको बताउँछन् । 

गाउँ नै विक्षिप्त

मदिराले निम्त्याएको क्षतिले रमदैया गाउँ विक्षिप्त छ । ७० वर्षीया सिलोचनादेवी मण्डलले दुई छोरा गुमाएकी छिन् । मृतक शत्रुधन र रामविलास उनका छोरा हुन् । अर्का छोरा भरत अस्पतालको आइसियूमा छन् । 

‘म बुढी बरु जिउँदै छु, तर छोराहरू मलाई छाडेर गए,’ सम्हालिन नसकेकी सिलोचनाले भनिन् । तीन भाइले छिमेकी शम्भु चौधरीको पसलबाट घरेलु मदिरा ल्याएर खाएका थिए । घटनालगत्तै शम्भु फरार छन् ।  नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस