के ओलीतिर ढल्केलान् माधव नेपाल ?

बुधबार, २८ फागुन २०७६, ०८ : ५४
के ओलीतिर ढल्केलान् माधव नेपाल ?

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपाल निवासमा अचेल दिनहुँ नेताहरुको भेटघाट बाक्लो छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली पक्षधर नेताहरु अहिले लाइन लागेर नेपाल निवासमा पुग्न थालेका छन् ।

नेपाल निवास पुगेर उनीहरुको तर्क हुन्छ– कमरेड अब हामी मिल्नुपर्छ । जनताको बहुदलीय जनवाद (जवज) का पक्षधरहरु मिलेर अगाडि जानुको विकल्पै छैन ।

पार्टी र सरकारमा एकलौटी निर्णय गर्दै आएका प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल लगायत नेताहरु असन्तुष्ट छन् । 

ओलीको मनमौजी शैलीको विरुद्धमा वहुमत सचिवालय सदस्य एकातिर उभिएर अगाडी बढन खोजेपछि ओलीलाई अहिले अप्ठायारो परेको छ । त्यही कारण आफूसहितको सचिवालयले सर्वसम्मत गरेको निर्णय कार्यान्वयन गर्न पनि ओलीले आनाकानी गरिरहेका छन् ।

त्रिवि शिक्षण अस्पतालको बेडबाटै उनले अहिले वरिष्ठ नेता माधव नेपाल फकाउन अनेक दुतहरु खटाइरहेका छन् । मृगौला पुनः प्रत्यारोपणका लागि २१ फागुनमा अस्पताल भर्ना भएका उनी अहिले अस्पतालको बेडमै सामान्य हिँड्डुल र सन्तुलित आहार लिइरहेका छन् ।

उनले अस्पतालको बेडवाटै आफु निकट नेताहरुलाई टेलिफोनमार्फत नेपाललाई फकाउन पठाइरहेका छन् । चिकित्सकहरुले ओलीसँग भने नेताहरु कसैलाई पनि भेटन दिइरहेको छैन ।

तर पनि उनले आफ्ना मुख्य सल्लाहकार विष्णु रिमालदेखि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसम्मका नेतालाई नेपाल निवासमै पुगेर फकाउन निर्देशन गरिरहेका छन् ।

ओलीको जीवन सामान्यकरण हुँदै जाँदा नेकपाले एमसीसी सम्झौता, राष्ट्रिय सभामा मनोनित सदस्य लगायतका विषयमा निर्णय लिनुपर्ने छ ।

पार्टीभित्र यही बेला आफ्नो कार्यशैलीका विरुद्ध बहुमत नेताहरुले मुख खोलेपछि ओली अहिले नेताहरु बीचमा प्रलोभन दिने, मोर्चाबन्दी भत्काउने र आफू तिरै तान्ने अनेक प्रयासमा छन् ।

त्यही क्रममा ओलीको आफैले पहिला पेलेर कर्नरमा पु¥याएका माधव नेपालको साथ खोजिरहेका छन् । जवजको कार्ड फ्याकेर ओली नेपाललाई आफूतिर तान्ने प्रयासमा लागेका छन् । त्यसका लागि उनले अनेक आश्वासन नेपालसामु पु¥याईरहेका छन् । 

ओली निकट एक स्रोतका अनुसार, नेपाललाई प्रधानमन्त्री ओलीले आफ्ना दुतमार्फत मन्त्रिमण्डल पुर्नगठन आफू डिश्चार्ज हुने बित्तिकै गर्ने र भीम रावल, सुरेन्द्र पाण्डे देखि सोमप्रसाद पाण्डे सम्मलाई मन्त्रीमा समेट्ने, महाधिवशेनसम्म पुग्दा अध्यक्ष र प्रधानमन्त्री पदमा दुई नेताका बीचमा भागवन्डा लगाउने र जवज पक्षधर एक भएर जानुपर्ने जस्ता सन्देश पु¥याइृरहेका छन् ।

तर नेपालले यस बारेमा खास टिप्पणी गरिसकेका छैनन् ।

ओली पक्षले उनलाई फकाउन मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा समेत प्रमुख अतिथिका रुपमा बोलाउने सम्मका काम गरिसकेका छन् ।

ओली पक्षका विविध आश्वासन र नेताहरुको बाक्लो नेपाल निवासमा बढेको दौडधुप पछि अब नेपालले के गर्लान् ? अहिले नेकपाभित्र यही विषय बहसमा छ ।

उनले आगामी दिनमा के गर्लान् ? त्यसले उनको कदम थाहा हुने देखिन्छ ।  ओलीबाटै लगातार प्रताडित बनेका नेपालले ओलीको आश्वासनमा सजिलै फक्किहाल्ने अवस्था नरहेको नेपाल निकट एक नेताको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस