अब दैनिक १० हजार मास्क उत्पादन

मंगलबार, २७ फागुन २०७६, ०७ : ५७
अब दैनिक १० हजार मास्क उत्पादन

काठमाडौँ । कोभिड–१९ संक्रमणको त्रास बढेसँगै बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले उत्पादन सुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुने गरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

‘उपकरण भए उद्योगीले जति पनि मास्क उत्पादन गर्न सक्छौं भनेका छन्,’ उनले भने, ‘मास्क सहजै उत्पादन तथा बिक्रीवितरण गर्न जे–जति आर्थिक वा अन्य सहयोग गर्नुपर्छ, हामी गर्छौं ।’

चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार मास्क उत्पादनका लागि कच्चा पदार्थको व्यवस्थापन भइसकेको छ । दुई दिनपछि नै दैनिक १० देखि २० हजार थान मास्क उत्पादन हुने उनले जनाए । ‘उत्पादन भएपछि सस्तोमै जनतालाई मास्क उपलब्ध गराउँछौं,’ उनले भने, ‘पहिले बजारमा पाइने मूल्यमै दिन्छौं ।’ मास्क मात्रै होइन, कोभिड–१९ संक्रमित बिरामीको नजिक जाने चिकित्सक र अन्य व्यक्तिले प्रयोग गर्नैपर्ने पीपीई अर्थात् व्यक्तिगत सुरक्षा सामग्री पनि नेपालमा उत्पादन हुन थालिसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए । उनका अनुसार उत्पादित पीपीई हाल विश्व स्वास्थ्य संगठनमा गुणस्तर जाँचका लागि पठाइएको छ । ‘हाम्रो देशमा सबै सामान विदेशबाट आउँछन्,’ उनले भने, ‘अमेरिकाबाट पीपीई खरिद गर्न खोजेको अभाव रै’छ, अब देशमै उत्पादन हुन्छ ।’ तत्कालको अभाव टार्न यूएसआईडीले मन्त्रालयलाई एक हजार थान पीपीई सहयोग गरेको छ ।

विभिन्न फार्मेसी र सर्जिकल हाउसले कालोबजारी गर्ने उद्देश्यले लुकाएका मास्क अनुगमन गरी निकालेर भए पनि पहुँच सहज बनाइने डा. देवकोटाको दाबी छ । ‘कोभिड–१९ को त्रासका कारण अनावश्यक रूपमा मास्कको प्रयोग बढेको छ,’ उनले भने, ‘मानिसहरू बेकारमा एन–९५ मास्क लगाएर हिँडेका छन्, संक्रमितको नजिक जानेबाहेक अन्यलाई यो मास्क नै चाहिँदैन ।’ बजारमा मास्क अभाव बढ्दै गए पनि नेपालमै उत्पादन हुने भएकाले ढुक्क हुन उनले सुझाए ।

नेपालमा कोभिड–१९ का बिरामी नभएकाले अहिले नै पीपीई प्रयोग गर्नुपर्ने आवश्यकता नभएको उनको भनाइ छ । संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीका लागि मात्रै यस्ता सामग्री आवश्यक हुन्छन् । उनका अनुसार कोभिड–१९ संक्रमणको आशंकापछि आइसोलेसन वा क्वारेन्टाइनमा राखिएका बिरामी भेट्दासमेत पीपीई आवश्यक छैन । एयरपोर्ट र नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले पीपीई मागिरहेका तर उनीहरूलाई कुनै आवश्यकता नभएको उनले बताए ।

परीक्षण गर्न २ हजार किट
कोभिड–१९ परीक्षण गर्न २ हजार किट तयारी अवस्थामा राखिएको महानिर्देशक श्रेष्ठले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हालसम्म ४ सय ३७ वटा त्यस्ता परीक्षण गरिसकेको छ । पहिलो टेस्टबाहेक सबै नेगेटिभ आएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोभिड–१९ को जोखिममा राखेपछि किट अझै ल्याउने तयारी रहेको उनले बताए ।

३ सय बेडको क्वारेन्टाइन बनाइने
नेपालमा ठूलो संख्यामा कोभिड–१९ का बिरामी देखिए एकै ठाउँमा कसरी राख्ने भनेर समेत तयारी भइरहेको छ । डा. देवकोटाका अनुसार सरकारले सकभर ३ सय बेडको अस्पताल नै बनाउने तयारी गरिरहेको छ । उनका अनुसार नयाँ अस्पताल बनाउन सम्भव नभए मानव बस्तीबाट टाढाको खाली भवनलाई क्वारेन्टाइनका लागि प्रयोग गरिनेछ । - कान्तिपुर दैनिकबाट यो समाचार लिइएको हो ।

प्रतिक्रिया दिनुहोस