गृह सचिव-आईजीपी भनाभन, यस्तो छ कारण

सोमबार, २६ फागुन २०७६, ०८ : ००
गृह सचिव-आईजीपी भनाभन, यस्तो छ कारण

काठमाडौं । ‘कुनै करिअर प्लान नबनाई, औचित्य र आधार पुष्टि नगरी डीआईजीको दरबन्दी कटौती गर्ने कुरा कहाँबाट आयो सर ?’ प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवाली फागुन दोस्रो साता आफ्नो कार्यकक्षमा जंगिएपछि गृहसचिव महेश्वर न्यौपाने केहीबेर अक्क न बक्क भए ।

माघ २९ मा आफैंले आईजीपीको फुली लगाइदिएका ज्ञवालीबाट यस्तो आक्रोश पोखिएपछि उनी केहीबेर मौन बसे । ‘तपाईंलाई जे मन लाग्छ त्यही गर्नुस्, म यस्तो निर्णयमा सहमत हुन सक्दिनँ,’ ज्ञवालीले थपे । त्यसपछि गृहसचिवको कार्यकक्ष केहीबेर सुनसानजस्तै भयो ।

न्यौपानेले समायोजन र संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण बन्ने क्रममा रहेको र १० वटा डीआईजी पद खारेज गर्ने विषय ज्ञवालीलाई सुनाएका थिए । ‘समायोजन प्रक्रिया अघि बढेको छ, दरबन्दी र पद तलमाथि हुन सक्छ, छलफल गरेरै अघि बढ्ने हो,’ गृहसचिवले यसो भनेपछि ज्ञवाली जंगिएका थिए ।

‘केहीबेर भनाभन नै भयो,’ न्यौपाने र ज्ञवालीबीचको भेटबारे स्रोतले भन्यो, ‘उहाँ (ज्ञवाली) प्रहरी संगठनबारे गृहसचिवलाई आफ्ना कुरा राखेर निस्कनुभयो ।’ त्यसपछि आईजीपी ज्ञवालीले गृहमन्त्री रामबहादुर थापा र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसँग नेपाल प्रहरी कमजोर बनाउने गरी कानुनी प्रावधान ल्याउन नहुने धारणा राखेको स्रोतले बतायो ।आजकाे कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस