८० पाईने मास्क ४ सय ५० रुपैंयामा बिक्री

शुक्रबार, २३ फागुन २०७६, ०७ : ३९
८० पाईने मास्क ४ सय ५० रुपैंयामा बिक्री

काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल मास्क तथा सेनिटाइजरलगायतका वस्तुमा कालोबजारी उच्च भएको पाइएको छ । मास्क, सेनिटाइजरलगायतका वस्तुको माग उच्च भएको मौका पारेर व्यवसायीले त्यस्ता वस्तु लुकाउने तथा बढी मूल्यमा बेच्ने गरेको पाइएको हो ।

पोखरामा बिहीबार प्रशासनले गरेको बजार अनुगमनमा क्रममा ८० रुपैयाँमा पाइने मास्कलाई चार सय ५० रुपैयाँसम्म लिएको पाइएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा भएको अनुगमनका क्रममा औषधि पसल तथा सर्जिकल फर्महरूले सामान्य अवस्थामा ८० रुपैयाँमा बिक्री गर्ने गरेको मास्कलाई चार सय ५० रुपैयाँसम्म लिएको पाइएको अनुगमनमा सहभागी उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । त्यस्तै सामान्य अवस्थामा १० रुपैयाँ पर्ने सर्जिकल मास्क ३० रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ ।

अनुगमन टोलीले पोखरा–९, महेन्द्रपुलस्थित स्याङ्जा औषधि पसल र पोखरा–१०, हस्पिटल चोकमा रहेको परी फार्मेसीमा शिलबन्दी गरेको छ । दुवै पसलले मास्कमा कालोबजारी गरेको पाइएपछि शिलबन्दी गरिएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले जानकारी दिए ।

उनले भने, ‘स्याङ्जा औषधि पसलले ८० रुपैयाँ पर्ने केएन ९५ मास्क चार सय ५० रुपैयाँ र परी फार्मेसीले सामान्य सर्जिकल मास्क ३० रुपैयाँमा बेचेको पाइएकाले शिलबन्दी गरिएको हो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।