सात वर्षपछि नारायणकाजीको संसदमा इन्ट्री !

अहिले बिहान ११ बजे सपथ ग्रहण

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०७६, ०८ : ३५
सात वर्षपछि नारायणकाजीको संसदमा इन्ट्री !

काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको सात वर्षपछि संसदमा इन्ट्री हुँदैछ । उनी यस अगाडी पहिलो संविधानसभामा राष्ट्रपतिबाट मनोनित कोटामा संसदमा प्रवेश गरेका थिए । त्यसअघि वा पछि भने उनको संसद प्रवेश सहज हुन सकेको थिएन । दोश्रो संविधानसभामा मकवानपुर र गत प्रतिनिधीसभामा गोरखा २ बाट उनले निर्वाचनमा पराजय ब्यहोरेका थिए ।

त्यसपछि उनको संसद प्रवेशमा रोक लाग्दै आएको थियो । तर राष्ट्रिय सभाका दुई वर्षे कार्यकाल सकेर बिदा भएका १८ सांसदको रिक्त रहेको पद मध्येबाट गण्डकी प्रदेशको खुल्ला कोटामा श्रेष्ठ निर्वाचित भएर अहिले राष्ट्रिय सभा प्रवेश गर्न लागेका हुन् । उनी गत माघ ९ मा भएको राष्ट्रिय सभा सदस्यको चुनावमा विजयी भएका थिए ।

उनको सपथ ग्रहण आज हुदैछ । उनी सहित आज १८ नयाँ सांसदले राष्ट्रिय सभामा प्रवेश पाउँदैछन् ।  राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूलाई बिहान ११ वजे शपथ गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
 
यी हुन् आज शपथ लिने १८ सदस्य 
आज सपथ लिने १८ मध्ये १६ जना सत्तारुढ दल नेकपाका सांसद छन भने २ जना राष्ट्रिय जनता पार्टीका छन् । आज सपथ लिनेहरुमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर छन् ।

अर्काे एक सिट पनि राष्ट्रिय सभामा रिक्त छ । यो पदमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नुपर्ने हुन्छ । नेकपाले यसमा उपाध्यक्ष वामदेव गौतम लाई मनोनित गर्न सर्वसम्मत निर्णय गरेको छ । तर प्रधानमन्त्री केपी ओलीले आफै बसेर गरेको यो सर्वसम्मत निर्णयलाई कार्यान्वयन गर्न भने आनाकानी देखाएका छन् । 

उनले पार्टी निर्णय पछि आफु निर्णय नमान्ने र युवराज खतिवडालाई नै दोहोराउने बताईरहेका छन् । यसले नेकपाभित्र विवाद निम्ताएको छ । प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएकोले नेकपाले यो विषय निरुपण गरेको छैन । जसकाकारण गौतम की खतिवडा भन्ने विवाद नेकपामा मिलीसकेको छैन् ।

कार्यकाल सकिएपछि अर्थमन्त्री रहेका युवराज खतिवडाले हिजो मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई गैर सांसदका रुपमा ६ महिनासम्म अर्थमन्त्री बन्न पाउने संविधानको ब्यवस्था अनुसार आजै पुनः नियुक्तिको तयारी समेत भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस