कोरोनाको त्रास : चितवनमा मास्कको सटेज, कालोबजारी भएको उपभोक्ताको गुनासो

मंगलबार, २० फागुन २०७६, १५ : ३३
कोरोनाको त्रास : चितवनमा मास्कको सटेज, कालोबजारी भएको उपभोक्ताको गुनासो

चितवन ।  कोरोना भाइरसको त्रास नेपालमा पनि फैलिइरहेको अवस्थामा त्यसबाट जोगिन प्रयोग गरिने मास्कको अभाव चितवनमा पनि देखिएको छ । 

चितवनका स्वास्थ्य क्लिनिकहरुमा कतै पनि मास्क भेटिएको छैन । उपभोक्ताहरु मास्कको अभावसँग कालोबजारी भएको गुनासो गर्न थालेका छन् । चितवनका भरतपुर अस्पतालअगाडि भेटिएका वृद्ध जोखबहादुर महतोले बजारमा मास्क नै नपाइएको बताए । उनले भने, ‘जुनसुकै मेडिकलमा पुग्दा पनि मास्क छैन भन्ने जवाफमात्र पाइयो, खै भएर हो वा नभएर हो केही मेसो पाइनँ ।’ 

चीनबाट फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा समेत देखिन थालेपछि मास्कका अभाव हुन थालेको हो ।  चीनलाई एक महिनाअघि मास्क सहयोग गरेको नेपाल आफैंलाई चरम अभाव हुन थालेको छ । चिकित्सकहरुका अनुसार चितवनका मेडिकल पसलमा मास्क पाइन छाडेका एक महिनाभन्दा बढी भइसकेको छ । 

वृद्ध चौधरीले मास्कमा कालोबजारी भएको गुनासोसमेत गरे । ‘हामी जाँदा मास्क पाइँदैन, किन्नेले किनिरहेका छन्, के हो ? उनले प्रश्न गर्दै भने । 

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले छिमेकी मुलुक चीनमा कोरोना भाइरस फैलिएपछि चीनबाटै नेपाल आउने मेडिकल मास्कको अभाव भएको बताए । उनले भने, ‘मास्क बाहिरबाट आउँछ, यहाँको उत्पादनले पुग्दैन, बाहिरबाट नआएपछि त मास्कको अभाव त हुने नै भयो नि ।’

एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट पनि कोरोना सर्न सक्ने हुँदा नेपालमा पनि मेडिकल मास्कको खपत बढेको हुनाले अभाव भएको उनी बताउँछन् । उनका अनुसार चीनबाट मास्क आउन बन्द भइसक्यो, नेपालमा स्टक छैन । नेपालमा उत्पादन नहुने हुँदा चीनको भर पर्नुपर्दा चीनमा भएको समस्यालाई नेपालले पनि अप्ठ्यारोमा पारेको उनले बताए । 

‘चितवनमा कालोबजारी भएको गुनासो आएको छैन, तर पनि अनुगमन निरीक्षण गर्नुपर्छ’ प्रमुख तिवारीले भने, ‘घरेलु मास्क बनाउन सके नयाँ रोजगार सिर्जना हुने र धोएर पनि फेरि प्रयोग गर्न सकिन्छ ।’  बजारमा पाइने मास्क २४ घन्टापछि त्यसको अर्थ नरहने र खाली धुलो छेक्नेमात्र हुने उनी बताउँछन् । 

माक्सको चरम अभाव भएपछि वाणिज्य विभागले कालोबजारी भएको आशंका गरेको छ । विभागले माक्सको कृत्रिम अभाव उत्पन्न गरिएको भन्दै छानविन प्रक्रिया अघि बढाएको हो । विभागले अनुगमनसमेत गरेको जनाएको छ । अनुगमनका क्रममा केहि औषधि पसलले माक्स लुकाएको तथा केहिले बढी मूल्यमा बेच्ने गरेको पाइएको विभागको भनाइ छ ।

बिभागले एक बिज्ञप्ति निकाल्दै मास्कको कालोबजारी गर्नेलाई कारबाही गर्ने र कृत्रिम अभाब सिर्जना गर्नेलाई कानुनी दयारामा ल्याउने बताएको थियो । ५ रुपैयाँ पर्ने मास्क ५ गुणा भन्दा बढी मुल्यमा बिक्रि भैरहेको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले पनि बजारमा बढी मूल्यमा कारोबार गर्ने कोही भेटिए कानुनअनुसार कारबाही गर्ने बताएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ‘स्टक’मा रहेको मास्क सकिएको बताए । मासिक तीन हजारको हाराहारीमा मास्कको खपत हुँदै आएको भरतपुर अस्पतालमा यतिबेला मास्कको अभाव भएको उनी बताउँछन् । 

मास्कप्रति अन्तर्राष्ट्रिय चासो
विश्व चर्चामा रहेको नोबेल कोरोना भाइरसका कारण मास्क लगाउनेको संख्या उल्लेख्य रूपमा बढेको छ। अतः मास्क अन्तर्राष्ट्रिय चर्चा र चासोको बिषय बनेको छ। विश्व अर्थबजारमा विभिन्न रूपमा मास्कको चर्चा भइरहेको छ।

भाइरस नसरोस् भनी सर्वसाधारणले व्यक्तिगत रूपमा सतर्कता अपनाउन मास्क प्रयोग थालेका छन्। भीडभाडमा होस् या बाटोमा, अस्पतालमा होस् या विमानस्थलमा मास्क लगाउने मानिस बढेका छन्। चीनियाँ बजारमा मास्कको अभाव भएको छ। कसैकसैले प्लास्टिकले पूरै शरीर छोपेका छन् त कसैले प्लास्टिकको बोतलले मुख छोपेका छन्। कोरोना भाइरस प्रकोपका कारण मास्क अभाव भएपछि चीनले बेइजिङमा ६ दिनभित्रै मास्क फ्याक्ट्री बनाउने समाचार बाहिर आएको थियो।

छिमेकी राष्ट्रद्वारा मास्क निर्यातमा रोक
विश्वको सबैभन्दा ठूलो मास्क उत्पादक राष्ट्र चीनले गत वर्षमात्र पाँच अर्ब मास्क उत्पादन गरेको थियो। तथापि, कोरोना भाइरसको प्रकोपसँगै उसले प्रति दिन उत्पादन गर्ने एक करोड ५० लाख मास्कले हालको चुलिँदो माग धान्न सकिरहेको छैन ।

चीनको उहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण नेपालमा पनि हुन सक्ने भन्दै नेपाल सरकारको सरकारी निकाय औषधी व्यवस्था विभागले रसायन तथा मेडिकल आपूर्ति संघ त्रिपुरेश्वरलाई माघ २० गते पत्राचार गरेर मास्कलगायत सामग्री निर्यात नगर्न भनेको छ। भारतले त माघ १७ मै मास्क निर्यातमा प्रतिबन्ध लगाइसकेको छ।

कुनै कुराको आवश्यकतासँगै अभाव र मूल्य वृद्धि हुनु त बजारको नियम नै हो। कोरोना भाइरस तीव्र गतिमा फैलिँदै गएपछि चीनमा सर्जिकल मास्कको हाहाकार भएको छ। चीनलाई मास्क आपूर्ति गर्न हम्मे भएको छ।

नेपाली बजारमा मास्कको चरम अभाव देखिएको छ। बजारमा पाइएका मास्कको मूल्य पनि अत्यन्तै महँगो भएको छ। मास्कको कालाबजारी सुरु भएको देखिन्छ। व्यापारी लाखौंलाख मास्क चीनलाई आपूर्ति गरी रातारात व्यापारमा सक्रियता बढाएका छन्। भारतीय सीमा र चिनियाँ सीमाक्षेत्रमा मास्क तस्करी भइरहेको हुनसक्छ।

नेपालमा मास्क उत्पादन

नेपालका मास्क उत्पादक आफ्नै खालको समस्यामा रहेका देखिन्छन्। नेपालले तयारी अवस्थाको मास्क र मास्क उत्पादनका लागि चाहिने कच्चापदार्थ दुवै चीनबाट आयात गर्दै आएको छ।
चीनबाट अहिले कच्चा पदार्थको आयात हुन सकेको छैन। प्रति दिन ६ हजार मास्क उत्पादन गर्ने धुलिखेलको क्लिन सिटी प्रालिका अनुसार उत्पादन लागतभन्दा आधा पैसामा मास्क बेच्नुपर्ने बाध्यता छ।

कच्चा पदार्थका आयातका लागि भन्सारमा ३५ प्रतिशतसम्म शुल्क तिर्नुपर्छ। जबकि रेडिमेड मास्क आयातकर्ताले तयारी अवस्थाको मास्कका लागि १५ प्रतिशत भन्सार तिरे पुग्छ। नेपालमा प्रति मास्क उत्पादन मूल्य लगभग तीन रुपैयाँ जति पर्न जान्छ, जबकि आयातीत रेडिमेड मास्क मात्र २ रुपियाँमा बजारमा पाइन्छ। यसरी मास्क उद्योगका लागि नेपालमा समस्या रहेको छ।

मास्क लगाउँदा अपनाउनुपर्ने सावधानी

कुन मास्कले कति हदसम्म अस्वस्थकर कण रोक्न सक्छ भन्ने कुरा त्यो कसरी प्रयोग गरिन्छ भन्नेमा निर्भर हुन्छ । सर्जिकल मास्क खुकुलो हुन्छ । नयाँ मास्क चेप्टो हुन्छ । लगाइसकेपछि सही तरिकाले निकाल्नु र सुरक्षित तरिकाले विसर्जन गर्नु पनि महत्वपूर्ण हुन्छ ।

लगाइराखेको बेला मास्कलाई सकेसम्म हातले छुन हुँन्न। मास्क फुकाल्ने बेलामा पनि अगाडिको भाग नछोइ पछाडिबाट तुना निकाल्नुपर्छ। मास्क निकालिसकेपछि तुरुन्तै साबुनपानीले हात धुनुपर्छ ।
मास्क बिग्रेको छ, भिजेको छ वा सास फेर्न गाह्रो हुने भएको छ भने लगाउन हुँदैन। एक पटक लगाउन बनाइएका मास्क पुनः प्रयोग गर्नु हुँदैन। एक जनाले लगाइसकेको मास्क अर्को व्यक्ति बिर्सेर पनि लगाउनु हुँदैन।