संघर्षशील दम्पतीको कथा

आगोको ताप र घामको रापमा चलेको जीवन

सोमबार, १९ फागुन २०७६, १७ : ४५
आगोको ताप र घामको रापमा चलेको जीवन

चितवन । एकातिर घामको चर्को ताप छ, अर्कोतिर आगोको पोल्ने राप छ । शरीर पसिनाले निथ्रुक्क भिजेको छ । हत्केला कलेटी परेका छन् । उज्यालो मुहार छ, तर पनि कोइला र खरानीका दागले अँध्यारो देखिन्छ । हातभरि कालै खरानी छ । 

ठेलाको दायाँतर्फ हरियो मकैको बोरा छ । एकछेउमा दाउरा मिलाएर राखेको सानो चाङ छ । अर्को छेउमा मकै खोस्टाएका भुत्ला छ । ठेलाको मुन्तिर बोरामा मकैको खोयाहरु छन् । ठेलाको मध्येभागमा कोइलाले भरिएको कराइमा हरियो मकै पट्याङ र पुटङ गर्दै पड्किरहेका छन् । 

पड्किरहेको मकैसँग गोविन्द चौधरी थारु बाँसको ढुग्रीले फु–फु गर्दै आगोलाई चम्किलो बनाउँदै मकै पोलिरहेका छन् । ‘दाजु मकै दिनुन एउटालाई कति रुपैयाँ पर्छ ? एउटी महिला हतारिँदै भनिन् । ‘२५ रुपैयाँ पर्छ, लिनूस्’ उनले यसो भन्दै ती महिलालाई मकै दिए  ।  

भरतपुर १० नारायणी नमुना मावि चोकमा दिनहुँ यसरी नै बित्छ गोविन्दका दिनचर्याहरु । बाटो वारि एउटा ठेलामा उनले हरियो मकै पोलेर बेच्न थालेको दुई वर्ष भइसक्यो । बाटो वारीका ग्राहकलाई उनले मकै पोलेर खुवाउँछन् भने बाटो पारीका ग्राहकलाई उनकी श्रीमती सुखीया चौधरीले मकै पोलेर खुवाउँछिन् । 

एउटा ठेलामा गोविन्द रमाइरहेका छन् भने अर्को ठेलामा उनकी श्रीमती सुखीया रमाइरहेकी छन् । सडकको छेउमा ठेला राखेर मकै पोल्नु, बेच्नु यी दम्पतीको दैनिकी हो । मकै पोल्ने काममा दुबै जना एक्लो छैनन्, एकले अर्कोलाई सघाइरहेको छन् । 

‘श्रीमतीको ठेलामा मकै सकिए श्रीमानको ठेलामा छ, श्रीमतीको कराइमा कोइला नभए श्रीमानको कराइमा छ’ गोविन्दले भने, ‘दुबै जान सँगै पोलेको मकै बेच्न निस्कन्छौँ, घर जाँदा पनि सँगै जान्छौँ’ गोविन्दले भने, ‘मकै पोलेर जीवन धानिरहेका छौँ, तीन छोराछोरीको लालनपालनदेखि शिक्षादीक्षाको व्यवस्था मिलाइरहेका छौँ ।’

गोविन्द ३५ वर्षका युवा छन् । श्रीमती सुखीया ३१ वर्षमा टेकेकी छिन् । गोविन्दलाई कहिल्यै विदेश जाने सोच आएन, आफ्नै माटोमा केही गर्ने सोच आयो । अक्षर चिन्नेबाहेक अरु पढाइ खासै छैन । तर पनि लाज नमानी यी दम्पती आफ्नो जीवन संघर्षशील भएर चलाइरहेका छन् । उनीहरु भन्छन्, ‘मागेर खान लाज हुन्छ, गरेर खान केको लाज ?’ 

मकै पोलेर बेच्दा ठूलोको प्रतिगोटा रु ३० पर्छ र सानाको रु २५ पर्छ । काँचो बेच्दा भने ठूलोलाई रु २५ र सानोलाई रु २० मा बेच्ने गरिएको उनीहरु बताउँछन् । ‘हामीले किनेर ल्याउँदा एउटालाई रु १० रुपैयाँ पर्छ’ गोविन्दले भने, ‘दाउरा किनेर, पोलेर बेच्दा थोरै फाइदा निक्लन्छ ।’

मकै पोल्नेले फर्निचरबाट प्रतिकिलो रु १५ तिरेर दाउरा किन्ने गरेका छन् । दिनमै १०० वटा भन्दा बढी मकै बिक्री हुने गरेको उनीहरुको अनुभव छ । यसरी किनबेच हुँदा दिनमा रु तीन हजार भन्दा बढीको कारोबार हुन्छ ।

मकै पोलेर बचेको पैसाले घर खर्च धानिएको यी दम्पती बताउँछन् । ठूलो आम्दानी नभए पनि मेहनतअनुसारको फल पाउँदा खुसी लाग्ने गरेको उनीहरुको भनाइ छ । घर्तीले दुई छोरी र एक छोरासहितको परिवारलाई पोलनपोषण गर्दै आएका छन् । 

गोविन्दको घर महोत्तरी गौशाला गाउँपालिका ९ मा पर्छ । चितवन आएका यी दम्पती १० वर्ष भयो । यहाँ आउनसाथ उनले सुरुमा रिक्सा चलाए । त्यसपछि ईरिक्सा । अहिले मकैसँग जीवन गाँसिएको छ उनको । 

मुख्य सडक र चोकमा भरतपुर महानगरपालिकाले मकै पोल्न नदिएपछि भित्री सडकमा उनीहरुको व्यवसाय गर्दै आएका छन् । तर पनि नगरपालिकाले बेलाबेला लखेट्छ उनीहरुलाई । गोविन्द भन्छन्, ‘एक दिन नगरपालिका आएर कराइ लगिदियो, मकै लगिदियो, यस्तो अवस्थामा ज्यादै दुःख लाग्छ ।’
गोविन्दको श्रीमती सुखीयालाई न घाम न आगोको राप कुनै प्रवाह छैन, छ त केबल ग्राहकको । ग्राहकले मकै किन्दा नै उनको जीविका चल्छ । छोराछोरी पढ्न पाउँछन् । जीवन सहज बन्छ । 

चर्को गर्मी होस् वा बादल गर्जेर वर्षा भइरहेको अवस्था होस् । काम नगरी जीवन गुजारा गर्न गाह्रो छ, उनीहरुलाई । भन्छन्, ‘खुला आकाशमुनि मकै पोलेर जीवन कटाउनु कम्ती त गाह्रो छैन ।’  टन्टलापुर घाममा पनि आगोको रापमा, पुस माघको कठ्याङ्ग्रिने जाडोमा पनि मकै पोलेर जीवन धान्दै आइरहेका छन् । उमेरले भर्खर युवा भए पनि उनीहरुमा कर्मप्रतिको लगाव र जाँगर भने उस्तै छ । 

यो दम्पतीलाई दिउँसो १२ देखि बेलुका ६ बजेसम्म मकै पोल्न भ्याईनभ्याई हुन्छ, बच्चादेखि वृद्धसम्मले मकै खाने गरेको उनले खुसी हुँदै सुनाइन् । पश्चिम चितवनबाट उनीहरुले मकै खरिद गर्छन् । मकै बेचेरै दिनमा पाँच सयदेखि एक हजारसम्म आम्दानी हुन्छ । 

दुबैको कमाइ जोड्दा महिनाको ४० हजारसम्म कमाइ हुन्छ गोविन्द गुनासिए । त्यतिकैमा श्रीमती सुखियाले भने, ‘होइन, होइन ३० हजारभन्दा सधैँ माथि नै भइरहेको छ ।’

समय फेरियो तर, ठाउँ फेरिएन । मकै खाने मान्छे कति फेरिए उनलाई थाहा छैन । तर पनि उनीहरुले मकै पोल्ने ठाउँ फेरेका छैनन् । मकै पोलेर कमाएको पैसाले छोराको पढाइदेखि घर खर्चसम्म सम्हाल्दै आएका छन् ।  मकै पोल्न तगारीमा सल्किँदै गरेको अगुल्टोको आगो ठोस्दै उनी भन्छन्, ‘हाम्रो जीवन हरियो मकैले धानेको छ ।’