अहिले सरकारको नेतृत्व परिवर्तनको कुरा उठाउनु उपयुक्त होइन : रघुजी पन्त

आइतबार, १८ फागुन २०७६, १७ : ४३
अहिले सरकारको नेतृत्व परिवर्तनको कुरा उठाउनु उपयुक्त होइन : रघुजी पन्त

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले नेकपाभित्रको विवादको समाधान सचिवालय बैठकबाट सुरु भएकोले सचिवालय बैठकले नै यसको समाधान गर्ने स्पष्ट पारेका छन् । उनले भने,‘हामी सचिवालयको निर्णयलाई पर्खिएर बसेका छौं ।’ उनले पार्टीभित्र पछिल्लो समय देखिएको परिदृश्य दुःखद् भएको टिप्पणी गरे । 

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पन्तले नेकपाभित्र पछिल्लो समय देखापरेको विवादले यो पार्टीलाइ भोट हाल्ने मतदाताहरु, नेकपाबाट परिवर्तन र सुशासनको अपेक्षा गरेका नेपाली जनताहरु, र पार्टी कार्यकर्ता तथा नेताहरुको ठूलो पँक्तिलाई दुखित् बनाएको छ ।’ 

क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले देखिएका समस्याहरुको समाधान पार्टीको सचिवालयको बैठकबाट यथाशक्य चाँडो गर्नसमेत माग गरे । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट स्वास्थ्यलाभ गरेर डिस्चार्ज भएपछि अहिले देखिएका नेकपाभित्रका सबै समस्या हल हुने विश्वास दिलाए । उनले भने,‘अहिलेको अवस्था भनेको सबैले आत्मचिन्तन गर्ने अवस्था हो । केपी ओलीजीले, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेवलगायत सबैले कसरी पार्टी एकता प्राप्त गर्ने र कसरी सबै नेताले आ–आफ्नो अहम त्यागेर पार्टीलाई एकताको बाटोमा लैजाने भन्ने नै हो ।’

उनले संविधान संशोधनको एजेण्डा आफ्नो पार्टीको बहस र विवादबाट बाहिर भैसकेको पनि चित्रण गरे । उनले भने,‘संविधान संशोधनको एजेण्डा अब हाम्रो छलफलको एजेण्डा छैन् । कुनैपनि राजनीतिक दलले, राजनीतिक नेताहरुले ठीक एजेण्डा, ठीक समयमा, ठीक ढंगले अगाडि सार्नुपर्दथ्यो ।’ पन्तले यो संविधान संशोधनको एजेण्डा बेठीक ढंगले, बेठीक समयमा र बेठीक कुराहरुलाई लिएर अघि सारिएको तर्क गरे । 

उनले भने,‘त्यसैले यो संविधान संशोधनको एजेण्डा देश र जनताको आवश्यत्तापनि थिएन, पार्टीको आवश्यकत्ता पनि थिएन् ।’ संविधान कार्यान्वयनको बाटोतर्फ मुलुक अघि बढिरहेको अवस्थामा अहिले संविधान संशोधनको कुरा उठाउनु भनेको नदुखेको टाउँको डोरी लगाएर दुखाउने काम भएको पनि पन्तको टिप्पणी थियो । उनले भने,‘त्यही भएर यो एजेण्डा पार्टीभित्र पनि स्थापित् हुन सकेन् । र, जनताको बीचमा पनि स्थापित हुन सकेन् ।’ उनले नेकपाले अब संविधान संशोधनको एजेण्डा आगामी ८–१० वर्षसम्मपनि छलफलमा ल्याउन नहुने जिकिर गरे । उनले थपे,‘आठ–दश वर्षसम्म यो संविधानलाई कार्यान्वयन गर्ने हो, यो संविधानलाई कार्यान्वयन गर्ने दौरानमा भोलि केही समस्याहरु निस्किँदै जान्छन् भने त्यो बेला संविधान संशोधनका कुरा उठन् सक्छ ।’ 

पन्तले प्रदेशको विकासको सवालमा अहिलेको प्रदेशसभाको संरचना बदल्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘२ नम्बर प्रदेशमा सिन्धुली, रामेछाप र दोलखा हाल्नुपर्छ । २ नम्बर प्रदेशलाई पानीको स्रोत खोई ? जलविद्युतको स्रोत खोई ? न उसँग पानीको लागि कुने ठूलो नदी छ, न त जलस्रोतको लागि केही छ ? भोलि उसले त्यहाँको विकास कसरी गर्छ ? त्यसैगरि २ नम्बरबाट बारा, पर्सा र रौतहटबाट झिकेर ३ नम्बर प्रदेशमा हाल्नुपर्छ । बारा, पर्सा र रौतहट कहिलेपनि जनकपुरतिर न आर्थिक रुपले, न सामाजिक रुपले, न सांस्कृतिक रुपले जोडिएको छन्।’ 

उनले २ नम्बर प्रदेश मधेश नभएको जिकिर गरे । उनले भने,‘त्यो मधेश मध्यदेशबाट अपभ्रंश भएको हो । मध्यदेश भन्ने भारतमा पर्छ । २ नम्बर प्रदेशको नामपनि मधेश राख्ने कुरा उपयुक्त होईन् । हामीले लैङिक समानताको कुरा हेर्ने हो भने त्यो प्रदेशको सबैभन्दा उपयुक्त नाम जानकी हुन्छ । झण्डै एक अर्ब हिन्दूहरुको लागि पनि जानकी नाम पवित्र छ । जानकी मन्दिर हाम्रो जनकपुरमा छ । प्रदेशहरुको पूनसंरचनाको लागि संविधान संशोधनको अहिले बहस तथा छलफल चलाउन सकिन्छ । तर, अहिल्यै नै यो भैहाल्छ भन्ने मलाई पनि लाग्दैन् ।’ 

उनले राष्ट्रिय सभा सदस्यपनि प्रधानमन्त्री हुनुपर्छ भनेर अहिले बेमौसममा संविधानको संशोधनको कुरा गरिएको भन्दै नेतृत्वको कडा आलोचना गरे । उनले भने,‘बास्तवमा यो सचिवालयको अपरिपक्वता थियो, हाम्रो सचिवालयले जनताको भावना नबुझेको कुराको परिणाम थियो, यो समयको आवश्यकत्ता थिएन् । त्यसैले यो एजेण्डा आउट भयो ।’ पार्टी उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा जाने सवालमा उनले निर्वाचनमा हारेकाहरु राष्ट्रियसभामा जान नहुने तर्क गरे । उनले थपे,‘निर्वाचनमा गएर हारेका मानिसहरुलाई २ वर्षपनि नबित्दै राष्ट्रियसभामा ल्याउने कुरा लोकतान्त्रिक दृष्टिकोणले त्यति उपयुक्त होईन् ।’

उनले अघि थपे,‘राष्ट्रियसभा भनेको त त्यसलाई एल्डर हाउस पनि भनिन्छ । त्यो भनेको राष्ट्रका विभिन्न क्षेत्रमा ख्याँतिप्राप्त गरेका विशेषज्ञहरु, पार्टीभन्दापनि बाहिर रहेका मान्छेहरु, र पार्टीभित्रकापनि विचारकहरु, बौद्धिक व्यक्तित्वहरु पठाउने ठाउँ हो । जसले भोलि विद्येयक निर्माण गर्दाखेरि प्रतिनिधिसभामा गल्ती भएछ भने त्यसलाई राष्ट्रियसभामा सच्याउन सकियोस भन्ने आशय हो । त्यसैले निर्वाचन हारेका, स्थानीय निकायका निर्वाचन हारेका, प्रतिनिधिसभाका निर्वाचन हारेका मानिसहरुलाई पठाउने कुरा लोकतान्त्रिक रुपमा आफैंमा ठीक थिएन् ।’ उनले पहिला जाँदा विवादस्पद काम गरेर चर्चित भएकाहरुलाई पठाउन नहुने भन्दै वामदेवको नाम सिफारिशमा उनको पनि असहमति भएको संकेत गरे ।  

उनले अहिलेको विवादको कुरा उल्लेख गर्दै राष्ट्रियसभामा कोहीपनि अपरिहार्य नभएको जिकिर गरे । उनले भने,‘राजनीति, जनताको जीवन र राष्ट्रको जीवनमा कुनै पनि व्यक्ति अपरिहार्य हुँदैन् । केपी ओलीजीपनि अपरिहार्य होईन । प्रचण्डजीपनि होईन् । माधव नेपाल, झलनाथ, वामदेव गौतमपनि कोही पनि होईन् । उहाँहरुले म अपरिहार्य हो भनेर सोच्नु भयो भने त्यो गल्ती हुन्छ । त्यसैले यो अपरिहार्य हो भनेर जोड दिने कुरा पनि आफैंमा गलत हो ।’ उनले व्यक्ति, व्यक्तिका नाम लिएर संगनको प्रेष्टिजको विषय बनाउने कुरा आफैंमा गलत भएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कडा टिप्पणी गरे । 

पन्तले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधन गर्ने कुरामापनि प्रधानमन्त्री ओलीको ध्यान नपुगेको टिप्पणी गरे । उनले भने,‘दुई वटा विषयमा उहाँको ध्यान पुगेन् । र, उहाँले गल्ती गर्नुभयो भन्ने मलाई लाग्छ । संविधान संशोधन गर्ने एजेण्डाको बैठकमा पनि उहाँ आफैंले बैठकको अध्यक्षता गर्नुभएको थियो, उहाँले त्यतिबेलै प्रष्ट भन्नुपर्दथ्यो कि यो कुसमयको कुरा हो, यो बेमौसमको बाजा हो, प्रधानमन्त्रीको हैसियतले म यो एजेण्डा लान्न भन्नुपर्दथ्यो । उहाँले सचिवालयको बैठकमै यसलाई स्टप गरिदिनुपर्दथ्यो । रोक्दिनुपर्दथ्यो । उहाँले त्यसलाई स्विकार्नुनै हुन्थेन् । दोस्रो कुरा, वामदेव गौतमजीको नामा पनि उहाँको असहमति थियो भने उहाँले त्यही बैठकमै मेरो सहमति छैन, अलिक विचार गरौं भन्नुपर्दथ्यो ।’ आफ्नै अध्यक्षतामा र आफ्नो सहमतिमा भएको निर्णयलाई बाहिर आएर असहमति जनाउँदा यसले पार्टी जीवनमा अप्ठ्यारो पार्ने पनि उनले खतरा औंल्याए । 

अहिले देखिएको पार्टी विवादले फुटको अवस्था नल्याउनेसमेत उनको दाबी छ । उनले थपे,‘पार्टीमा गुटबन्दी छ, त्यो भत्काउनको लागि दुई जना अध्यक्षले केपी ओलीजी अध्यक्ष हुँदा उहाँले पनि राम्रैसँग यो गुटबन्दी समाप्त गर्न भूमिका खेल्न सक्नुभएन । उहाँलेपनि फराकिलो छातीले सिंगो पार्टी र कार्यकर्ताहरुलाई बिना भेदभाव जिम्मेवारी दिने र उनीहरुलाई काखापाखा नगर्ने जुन काम गर्नुपर्दथ्यो, त्यो कामपनि गर्नुभएन् । स्वयम अर्का अध्यक्ष प्रचण्डजीबाट पनि एउटै पार्टी भैसकेपछि पूरानो पार्टीको मनोभावना त्यागेर एउटा नयाँ पार्टीमा जाउँ भन्नेमा उहाँको पनि भूमिका देखिएन् । अहिलेसम्म के देखियो भने उहाँहरु दुई जनाले जे मा पनि भाग लगाउने,राष्ट्रियसभामा पनि भाग लगाउने । केन्द्रिय कमिटीका सदस्यहरु राख्दापनि योग्यताको आधारमा राखिएन् । बरु, भाग लगाउने ढंगले अघि बढियो । त्यसले पनि पार्टीमा असन्तुष्टी बढाएको हो । यो पनि एउटा कारण हो ।’

पन्तले पार्टी सञ्चालनमा नेकपाका अध्यक्षद्धय ओली र दाहालको कमजोरी देखिएको भन्दै कडा टिप्पणी गरे । उनले भने,‘दुवै अध्यक्षले आफ्नो कार्यशैली सच्याउनुपर्छ । पार्टीमा पूरानो समूहको प्रतिबद्धता त्यागेर नयाँ ढंगले कसरी एकताबद्ध गर्ने ? कसरी गुटबन्दीरहित बनाउने भन्ने कुरामा भूमिका हुनुपर्छ ।’ उनले वामदेव गौतमलाई चुनाव हराउने पार्टीमा कुनै रणनीति नबनेको कुरा सुनाए । पत्रकारले सोधेको एक प्रश्नमा यस्तो जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

उनले स्मरण गराए,‘उहाँलाई हराउने रणनीति पार्टीमा थियो भन्ने कुरा मेरो जानकारीमा छैन् । मेरो जानकारीमा नभएको कुरा म भन्न सक्दिन् । हो, चुनावमा पराजित भैसकेपछि स्थायी कमिटीको बैठकमा वामदेव कमरेडले मलाई यी यी मान्छेहरुले हराउन खोजे, मैले यीनीहरुलाई कारबाही गर भनेको झन यीनीहरुलाई प्रदेश कमिटीमा ल्याएर प्रमोशन गरियो, प्रेस सल्लाहकार बनाईयो भन्ने कुरा पनि बैठकमा राख्नुभयो । त्यो उहाँको आरोप थियो । तर, जहाँसम्म मलाई के लाग्छ भने वामदेव कमरेड निर्वाचनमा पराजित भैसकेपछि ५ वर्ष पर्खिनुपर्दथ्यो । उहाँले प्रधानमन्त्रीको लागि म योग्य छु भनेर ठान्ने कुरा उहाँको अधिकारको कुरा हो ।’

उनले तत्काल सरकारको नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको पनि स्पष्ट पारे । ‘कतिपय मान्छेहरुको चाहना सरकारको नेतृत्व परिवर्तन होस् भन्ने होला, तर, अहिले नेतृत्व परितर्वनको कुरा उठाउनु अलिक उपयुक्त हुन्छजस्तो लाग्दैन् । हो, निश्चयपनि सरकार यही ढंगले गयो र जनतासामू लोकप्रिय हुन सकेन भने सबैको विकल्प सोच्न सकिन्छ । सरकारको नेतृत्वको विकल्पपनि पार्टीले सोच्न सक्छ, पार्टीले नेतृत्वको विकल्पनि सोच्न सक्छ । र, हाम्रो पार्टीमा एकसे एक नेता हुनुहुन्छ । प्रधानमन्त्री हुनको लागि पनि, र पार्टी अध्यक्ष हुनको लागि पनि । प्रधानमन्त्री हुन चुनाव जितेर आएका तीन जना पूर्व प्रधानमन्त्रीहरु हुनुहुन्छ । त्यसकारण चिन्ता गर्नुपरेन । तर, अहिले एउटा त प्रधानमन्त्री उपचारको क्रममा हुनुहुन्छ । उहाँको अहिले स्वास्थ्यलाभको कामना गर्ने हो ।’
उनले अहिले नै मुलुकमा एउटा राजनीतिक अनिश्चितता र अस्थिरता उत्पन्न हुनेगरि प्रधानमन्त्री परिवर्तनको कुरा तत्काल उठाउनु उपयुक्त नहुने जिकिर गरे । 

नेता पन्तले एमसीसीका कतिपय कुराहरु सच्याउने मिल्ने हो भने सच्याउने र त्यसमा नेकपाद्धारा गठित कार्यदलले केही सुझाव दिएको पनि सुनाए । उनले भने,‘अमेरिकासँगको सम्बन्ध र हाम्रो राष्ट्रिय विकासको आवश्यकत्तालाई हेर्दै त्यसका केही कमिकमजोरीलाई सच्याउन सकिन्छ भने त्यो दिशमा पनि प्रयत्न गर्दै पास गरेर जानुपर्छ भन्ने मलाई लाग्छ ।’ 

कोरोना भाईरस (कोभिड–१९) को प्रभावका कारण नेपालको विमानस्थलमा आवातजावत बन्द गर्न नहुने उनको तर्क छ । उनले भने,‘प्रधानमन्त्रीले यसको लागि विशेष बैठक बोलाएर आफ्नो संयोजकत्वमा बैठक बोलाउनुभएको छ । अहिले नै विमानस्थल बन्द गर्नुपर्छ भन्ने लाग्दैन् ।’ 

उनले गोकुल प्रसाद बाँस्कोटाको प्रकरणमा छानबिन हुनुपर्ने बताए । उनले भने,‘गोकुलजीको मुखपनि छुचो थियो । कामपनि विवाद भयो । यो प्रकरणमा ईमानदारीपूर्वक छानबिन हुनुपर्छ । दोषी भए उन्मुक्ति पाउनुहुँदैन् । छानबिन राम्रो होस् ।’