जलवायु परिवर्तनको प्रभावले मासियो स्याउ

आइतबार, १८ फागुन २०७६, ०८ : २०
जलवायु परिवर्तनको प्रभावले मासियो स्याउ

file photo

बैतडी । कुनै समय लटरम्म स्याउ फल्ने सतबाँझ फार्ममा अहिले पुराना स्याउका एउटा पनि बोट छैनन् । स्याउ उत्पादनका लागि चिनिएको यो फार्ममा स्याउ नासिएपछि अहिले विभिन्न प्रजातिका फलफूलको खेती विस्तार गरिएको छ ।

सतबाँझ सुक्खा फलफूल केन्द्रको २९ हेक्टर क्षेत्रफलमा अहिले केही नयाँ जातका स्याउ र हिउँदको समयमा फल्ने सुक्खा फलफूल लगाइएको केन्द्रले जनाएको छ । अहिले यो फार्म सुक्खा फलफूलको बेर्ना उत्पादन, परीक्षण केन्द्रका रूपमा विकास भइरहेको छ ।

केन्द्रका अनुसार केही वर्ष अघिसम्म मङ्सिरदेखि फागुनसम्म हिउँले डम्म ढाकिने सतबाँझको यो डाँडाको फार्ममा छ हजारभन्दा बढी स्याउका बोटबाट वार्षिक ४० टन स्याउ उत्पादन हुने गथ्र्यो । स्याउ फल्न छोडेपछि फलफूल केन्द्रले पछिल्लो समय ओखर र नास्पातीका बोट लगाए पनि स्याउकै कारण प्रसिद्धि कमाएको सतबाँझको इतिहास लोप हुने स्थिति रहेको छ ।

उजाड बन्न थालेको फलफूल केन्द्र जोगाउन अहिले ५५ हजार बोट ओखर, एक हजार जैतुन, कागजी बदाम लगाउन सुरु गरिएको छ । बागवानी विज्ञहरूका अनुसार स्याउ फल्न वर्षभरिमा एक हजार छ सय घण्टासम्म सात डिग्री सेल्सियसमुनि तापक्रम चाहिन्छ । अहिले यो ठाउँमा पाँच सय घण्टा पनि मुस्किलले सात डिग्री सेल्सियस तापक्रम पुग्छ ।

प्राविधिकहरूका अनुसार जलवायु परिवर्तनका कारण पुराना प्रजातिका स्याउका बोट हराएका हुन् । पुराना प्रजातिको स्याउ उत्पादन हुन छोडेपछि सतबाँझको इतिहास मेटिन नदिन अहिले फुजी, गाला र रेडग्रेड स्टिम प्रजातिका एक सय नयाँ स्याउका बोट रोपिएको फलफूल केन्द्रका प्राविधिक अर्जुन खड्काले बताउनुभयो ।

प्राविधिक खड्काका अनुसार अहिले रोपिएका स्याउका बिरुवा तीन वर्षमा फल्ने र एउटा बोटबाट १२ देखि १५ किलोसम्मका स्याउ उत्पादन हुनेछ । पहिलोपटक फर्ममा नास्पाती, ओखर, कागजी बदाम, खुर्पानीबाहेक किबीको पनि उत्पादन सुरु गरिएको छ ।

विद्यार्थीका लागि प्रयोगशाला

सतबाँझको विशाल फाँटमा कृषि प्रविधि पढ्ने विद्यार्थीले प्रयोगात्मक अध्ययन गर्ने अवसर पाएका छन् । कृषिको प्रयोगात्मक अध्ययन हुने सुदूरपश्चिमका झण्डै सबै इन्स्टिच्युटका विद्यार्थी सतबाँझमा आउने गर्छन् । हेर्दै, सिक्दै काम गर्न पाइएकोमा विद्यार्थी पनि दङ्ग छन् ।

बैतडीको वासुदेव माध्यमिक विद्यालयमा अध्ययनरत सीमा साउद बिरुवामा रङ लगाउने तयारी गर्दै हुनुहुन्थ्यो । “प्रयोगात्मक अध्ययनका लागि सतबाँझ फार्ममा सजिलो भएको छ । धेरै अभ्यास गर्न पाएका छौँ,” उहाँले भन्नुभयो । १८ महिनाको जेटीए

अध्ययन पाठ्यक्रम अन्तर्गत छ महिना प्रयोगात्मक अध्ययन गर्नुपर्ने हुन्छ । रोपिएका बिरुवाहरूमा कलमी गर्ने, काँटछाँट गर्ने, कलरिङ गर्ने, जग्गा रेखाङ्कन गर्ने, बिरुवा रोप्ने र रोपेका बिरुवाहरूको उपचार गर्ने काम विद्यार्थीले गर्दै आएका छन् । बिरुवामा कीरा नलागोस् भनेर चुनामा विभिन्न सामग्री मिश्रण गर्दै हुुनुहुन्थ्यो, निर्मला परियार ।

श्री सेतगाउँ मावि, गोकुलेश्वरमा कृषि प्राविधिक अध्ययनरत उहाँ विद्यालयबाट अभ्यासका लागि यहाँ आउनुभएको हो । बिरुवाहरूमा रोग कीरा नलागोस् भनेर तयार पारिने रङमा चुना, निलोतुथो, आलसको तेल र पानीको मिश्रणबाट बनाइएको झोल बिरुवामा लगाउँदा बिरुवा स्वस्थ भई बढ्ने उहाँले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।