औषधिबाट निको हुन नसकेमात्र न्यूरोसर्जरी

सफल खबर संवाददाता

शनिबार, १७ फागुन २०७६, १२ : १४
औषधिबाट निको हुन नसकेमात्र न्यूरोसर्जरी

तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । मस्तिष्क र सुसुम्नानाडी (स्पाइनल) सम्बन्धी उपचारलाई संवेदनशील मानिन्छ । न्यूरोसर्जनहरुको एक भेलाले औषधिबाट निको हुन नसकेमात्र न्यूरोसर्जरी गर्नु पर्नेमा जोड दिएका छन् ।

काठमाडौँ, झापा, रुपन्देही र चितवनका ४० जना न्यूरोसर्जन शुक्रबार साँझ सौराहामा जम्मा भएर न्यूरोसर्जरी सेवालाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनी छलफल गरे । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरको न्यूरोसर्जरी विभागले आयोजना गरेको निरन्तर मेडिकल शिक्षा (सीएमई) कार्यक्रममा सहभागी न्यूरोसर्जनहरुले न्यूरो सम्बन्धी समस्या भएका बिरामीलाई औषधिबाट निको हुन नसकेमात्र न्यूरोसर्जरी गर्नु पर्नेमा जोड दिएका हुन्  ।

कार्यक्रममा अन्नपूर्ण अस्पताल काठमाडौंका न्यूरोसर्जन डा. वसन्त पन्त र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका न्यूरोसर्जरी विभाग प्रमुख डा. विनोद भट्टराईले टिप्पणी गरेका थिए । डा. भट्टराईले न्यूरोसर्जरीको क्षेत्रमा कार्यरत चिकित्सकहरुको ज्ञान अभिवृद्धि, अनुभव आदानप्रदान र अन्तरक्रियाको लागि कार्यक्रम आयोजना गरिएको बताए । 

डा. भट्टराईको अध्यक्षतामा सम्पन्न सीएमईमा न्यूरोसर्जन सोसाइटी नेपालका अध्यक्ष प्रा.डा. कृष्ण शर्मा, सचिव प्रा.डा. राजीव झा, कलेज अफ मेडिकल साइन्सेजका न्यूरोसर्जन डा. सुनिल मुनाकोमी लगायतले न्यूरोसम्बन्धी विभिन्न विषयमा प्रस्तुति दिएका थिए ।

नेपालमा ८६ जना न्यूरोसर्जन छन् । तीमध्ये ६ जना चितवनका चार वटा अस्पतालमा छन् । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा ३, चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा १, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ र भरतपुर अस्पतालमा १ जना न्यूरोसर्जन कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस