पत्रकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’

रासस

शुक्रबार, १६ फागुन २०७६, १३ : ५६
पत्रकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’

चितवन । पत्रकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह प्रकाशित भएको छ । सामाजिक यथार्थवादी विषयवस्तु समेटेर तयार पारिएको पराजुलीका कथासङ्ग्रहलाई भँुडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याउन लागेको हो । अहिले पुस्तकको छपाइको काम सम्पन्न भएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिनुभयो । “हामी एक हप्ताभित्रै बजारमा ल्याउने गरी गृहकार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो । 

    ‘कुमाता’मा सङ्ग्रहित दश कथा फरकफरक विषयवस्तुका छन् । कथाले नेपाली समाजलाई  जीवन्तरुपमा उतार्ने प्रयास गरेको कथाकार पराजुलीले जानकारी दिनुभयो । “कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छरछिमेक र समाजमा भएका घटनाजस्ता लाग्छन्, त्यसैले यो सङ्ग्रहभित्रको कथा हरेक व्यक्तिले आफ्नै समस्या हो कि भन्ने महसुस गर्छ”, पराजुलीले भन्नुभयो । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन् । यी कथाले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् । 

    वरिष्ठ सहित्यकार एवं लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथासङ्ग्रहमा भूमिका लेख्दै मानवीय जीवनका महत्वपूर्ण पाटालाई गतिलोसँग केलाउन कथाकार सक्षम देखिएको बताउनुभएको छ । उहाँ लेख्नुहुन्छ, “अधिकांश कथामा पुरुष वैदेशिक रोजगारीमा गएको, विश्वासघात गरेको देखाइएको छ भने नारी पात्रले छिटो विश्वास गर्ने गरेको, धोका पाएको र यौनकुण्ठा देखाइएका छन् ।” विषयवस्तु र परिवेशलाई सहज एवं सम्प्रेषणीय बनाइएकाले पराजुलीको उक्त सङ्ग्रह आधुनिक नेपाली कथा क्षेत्रमा नयाँ गोरेटो बनेको उहाँले बताउनुभयो । कूल १० कथा र ११२ पृष्ठको उक्त सङ्ग्रहको मूल्य रु २०० छ । पराजुली झण्डै दुई दशकदेखि ‘गोरखापत्र’ दैनिकमा आबद्ध हुनुहुन्छ भने त्यसभन्दा बढी समयदेखि स्थानीय ‘चितवन पोष्ट’ दैनिकमा कार्यरत हुनुहुन्छ । पराजुलीले राष्ट्रिय र स्थानीयपत्र पत्रिकामा समय सन्दर्भअनुसारका विषयवस्तुमा लेख लेख्दै आउनुभएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस