रक्षामन्त्री ईश्वर पोखरेललाई जनार्दनको प्रश्न : म मन्त्री नै छैन, मेरो नाम किन लेखियो ?

विहीबार, १५ फागुन २०७६, १५ : ०६
रक्षामन्त्री ईश्वर पोखरेललाई जनार्दनको प्रश्न : म मन्त्री नै छैन, मेरो नाम किन लेखियो ?

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदसमेत रहेका पूर्वगृहमन्त्री जनार्दन शर्माले उपप्रधानमन्त्री ईश्वर पोखरेलले हालै सार्वजनिक गरेको नेपाल ट्रष्टको श्वेतपत्रमाथि प्रश्न गरेका छन् । 

आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट आइपरेको उनले गुनासोसमेत गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले हालै सार्वजनिक गरेको नेपाल ट्रष्टको श्वेतपत्रमा आफ्नो नाम उल्लेख गरेको भन्दै शर्माले आपत्ति जनाए । 

‘२०७४ कात्तिक १३ गते निर्णय भएको भन्नेमा आफ्नो नाम श्वेतपत्रमा जोडिएको र त्यसैलाई आधार मानेर अनलाइन र पत्रिकाहरूमा समाचार देखें,’ शर्माले भने, ‘मैले भर्खरै भएका निर्णयहरू पनि हेरें, त्यहाँ नाम उल्लेख गरेर निर्णय लेखिएको रहेनछ। मिति मात्रै लेखिएको छ। नाम कहिँ लेख्नु नपर्ने कहिँ लेख्नुपर्ने ? असोज ३० गतेबाट गृहमन्त्रीको जिम्मेवारीबाट हटेको थिएँ, म मन्त्री नै नभएको बेला नाम लेखिएको कारण के ? लेख्नुपर्ने नाम किन लेखिएन। यो अश्वेतपत्र किन लेखियो ? उनले प्रश्न गरे । 

सरकारलाई समर्थन गर्न दलालको घेराबाट मुक्त हुनुपर्छ भन्ने आफूले भनिरहेको पनि उनले बताए।
‘मलाई तर्साउन खोजिएको हो ? मलाई आत्मसमर्पण गराउन खोजेको हो ? असत्यको अगाडि कहिल्यै पनि आत्मसमर्पण गर्दिनँ। म तर्सिन पनि तर्सिंदैन,’ उनले भने।

सरकारले आफूलाई ढाँट्न सके पनि जनतालाई नसक्ने उनले बताए। उनले भने, ‘जनता र मतदाता ढाँट्ने सरकारले कहिले पनि काम गर्न सक्दैन। कसरी विश्वास गर्ने सभामुख महोदय, विश्वासको संकट पर्‍यो यहाँ। म गृहमन्त्री नै छैन नभएको नाम लेखेर मिडियाबाजी किन गरियो ?’ उनले भने, ‘लेख्नुपर्ने नाम नलेख्ने, नलेख्नुपर्ने ठाउँमा लेखेर मिडियाबाजी गराउने किन गरियो ? यसबारे रक्षामन्त्री र प्रधानमन्त्रीको जवाफ चाहियो ।’

यसअघि बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पोखरेलले सार्वजनिक गरेको श्वेतपत्रमा आपत्ति जनाएका थिए। पोखरेलले सार्वजनिक गरेको श्वेतपत्रमा ताहाचलस्थित ट्रष्टको जग्गा लिजमा दिने निर्णय देउवा प्रधानमन्त्री र  शर्मा गृहमन्त्री हुँदा भएको उल्लेख गरेका छन् ।