भरतपुर महानगरमा साना सवारीसाधनको व्यवस्थापन

ठूला सवारीसाधनलाई पनि व्यवस्थित गर्नेछौँ : महानगर प्रमुख दाहाल

विहीबार, १५ फागुन २०७६, १३ : ५९
भरतपुर महानगरमा साना सवारीसाधनको व्यवस्थापन

चितवन । भरतपुर महानगरपालिकामा साना सवारीसाधनको व्यवस्थापन हुने भएको छ । तीन पांग्रे अटोपछि भरतपुर महानगरले चार पांग्रे सवारी साधन म्याजिकको पनि रुट परमिट बनाएर व्यवस्थापन गरेको छ ।  

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज विभिन्न चारपांग्रे सवारी साधनलाई रुट परमिटको स्टिकर टाँसेर कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय र संयुक्त यातायात व्यवस्थापन समितिको सहकार्यमा रुट परिमिट बनाएर म्याजिक सञ्चालनमा व्यवस्थापन गरेको हो ।

भरतपुर महानगरपालिकाले बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न चारपांग्रे सवारीसाधन (म्याजिक) सञ्चालनको लागि रुट परमिट बनाएको प्रमुख दाहालले बताउनुभयो ।

महानगर प्रमुख दाहालले कार्यक्रममा तीनपांग्रे सवारी साधन (अटो) पछि चार पांग्रे सवारीसाधन (म्याजिक) हरुको व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले महानगरलाई सफा र सुन्दर बनाउन, बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न म्याजिकहरुको व्यवस्थापन गरिएको बताउनुभयो ।

कार्यक्रममा उहाँले भन्नुभयो, ‘पहिलो चरणमा अटोको व्यवस्थापन गरेका छौँ, दोस्रो चरणमा म्याजिकको पनि व्यवस्थापन भयो, अब ठूला सवारीसाधन (सिटीबस तथा नगर बस) को पनि व्यवस्थापन गर्नेछौँ, भरतपुरलाई सुन्दर, सफा, हरियाली, सुरक्षित सहर बनाउने छौँ ।’

उहाँले महानगर, यातायात समिति र सरोकारवालासँग बसेर बनाइएको रुटमा मात्र म्याजिक चल्न पाउने र इजाजत नभएका ठाउँमा म्याजिक चल्न नपाउने बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘जुन म्याजिकले जहाँ इजाजत पाएको छ, जुन रुटमा छुट्टाइएको छ, त्यहीँमात्र चल्न पाउनेछ ।’ उहाँले मनपरि ढंगबाट म्याजिकलाई चल्न रोक लगाइएको बताउनुभयो । 

कार्यक्रममा महानगर प्रमुख दाहालले नं १ देखि १२ सम्म रुट बनाएर म्याजिक सञ्चालनको अनुमति दिइएको र एउटा रुटको म्याजिक अर्को रुटमा गएर चले ट्राफिक कार्यलयले कारबाही गर्ने बताउनुभयो । उहाँले अब जहाँ यात्रुको भीड हुन्छ, सोही ठाउँमा मात्र म्याजिक चल्ने परिपाटीको अन्त्य भएको बताउनुभयो ।

‘आफ्नो रुटबाहेक अन्त जान पाउँदैन, कसैलाई भेदभाव नगरी सहरलाई सुन्दर बनाउन सबैको सुझावलाई आत्मसाथ गर्दै यातायात व्यवसायीसँग बसेर नै रुट बनाइएको छ’ प्रमुख दाहालले भन्नुभयो, ‘भरतपुर महानगरमा हालको अवस्थामा म्याजिक पुगेको छ, अर्को निर्णय नहुँदासम्म नयाँ म्याजिकलाई प्रवेशमा रोक लगाइएको छ ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले म्याजिक सञ्चालनमा भरतपुर महानगरपालिकाले दुरदर्शी निर्णय गरेको बताउनुभयो । उहाँले नेपालमै पहिलो पटक भरतपुर महानगरले रुट परमिट बनाएर म्याजिकको व्यवस्थापन गरेको बताउनुभयो । 

कार्यक्रममा उहाँले भन्नुभयो, ‘म विभिन्न जिल्ला घुम्दै हाल चितवन आएको छु, कुनै जिल्लामा यस्तो व्यवस्था भएको थाहा थिएन, भरतपुर आएर थाहा पाएँ ।’ उहाँले यस्तो सिस्टमले दुर्घटना घट्ने,  सहरको सुन्तरता पनि थपिने बताउनुभयो । 

कार्यक्रममा ट्राफिक प्रमुख दयाकृष्ण भट्टले एक हप्ताभित्रमा सबै म्याजिकहरुमा स्टिकर टाँस्ने र सबैमा आफ्नो रुटको कहाँदेखि कहाँसम्म चल्ने म्याजिक हो त्यो लेख्न लगाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘रुट बेगर चल्ने म्याजिकहरु अब कारबाहीमा पर्छन् । तोकिएको रुटमा मात्र चल्ने अधिकार छ, रिजर्भ भएको खण्डमा बाहेक एउटा म्याजिक अर्को रुटमा जान पाउँदैन ।’

कार्यक्रमको सभाध्यक्ष रहनुभएका संयुक्त यातायात व्यवस्थापन समितिका संयोजक चिनीकाजी महर्जनले एकदेखि १२ नम्बरसम्मको रुटमा ६७४ वटा म्याजिक चल्ने बताउनुभयो । 

कुनकुन रुट भयो तयार ?

भरतपुर महानगर, संयुक्त यातायात व्यवस्थापन समिति, ट्राफिक कार्यालयलगायतले रुट तयार पारेको हो । १२ वटा रुट तयार पारिएको छ ।

एक नम्बर रुटमा रिङ्गरोड, दुई नम्बरमा रामपुर शारदानगर, तीन नम्बरमा गीतानगर पटिहानी, चारमा फूर्तिचोक विजयनगर, पाँचमा गौरीगञ्ज पाण्डेघुम्ती, छमा गोद्राङ सल्लेरी, सातमा भोजाड लामाटोल, आठमा खोलेसिमल जुटपानी, नौमा गैंडाकोट थुम्सी, दसमा नारायणगढ मुग्लिन, एघारमा टाँडी पर्सा र १२ नं रुटमा देवघाट ठिमुरा रहेको छ । 

‘सबैभन्दा बढी म्याजिक भरतपुर रिङरोडमा २६७ वटा म्याजिक चल्छन् भने सबैभन्दा कम देवघाट ठिमुरामा जम्मा १७ वटा चल्नेछ’ संयुक्त यातायात व्यवस्थापन समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो । उहाँले सबै म्याजिकले रुट नम्बर लेखिएको स्टिकर टाँस्नुपर्ने र भनिएको रुटमा मात्र चल्नुपर्ने अन्यथा कारबाहीको लागि ट्राफिक कार्यालयमा सिफारिस गर्न समेत यातायात समिति पछि नपर्ने बताउनुभयो ।