पटिहानीमा दुई करोडको लागतमा दुग्ध उद्योग स्थापना

सफल खबर संवाददाता

विहीबार, १५ फागुन २०७६, १३ : ३४
पटिहानीमा दुई करोडको लागतमा दुग्ध उद्योग स्थापना

तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । भरतपुर महानगरपालिका २२, पटिहानीमा दुई करोड रुपैयाँको लागतमा दुग्ध उद्योग स्थापना गरिएको छ । पटिहानीस्थित गंगानगर दुग्ध उत्पादक सहकारीले सरकारी अनुदान ८५ लाख र सहकारीको लगानी एक करोड १५ लाख रुपैयाँबाट उद्योग स्थापना गरेको हो ।

गंगानगर दुग्ध उत्पादक सहकारीले बिहीबार पटिहानीमा पत्रकार सम्मेलनको आयोजना गरी उद्योगबारे जानकारी गराएको छ । सहकारीले चैत महिनाको अन्तिम साताबाट आधा किलोको प्याकमा गंगा ब्राण्डका दूध, दही, पनीर र नौनी उत्पादन गर्ने तयारी गरेको छ । 

अन्य दुग्ध उद्योगका उत्पादन सरह उपभोक्ता मूल्य राखिएको र दैनिक दुई हजार लिटर दूध बिक्री गर्न सकेमा किसानलाई सहकारीले खरिद गर्ने दूधमा प्रतिलिटर दस रुपैयाँ थप रकम दिन सकिने सहकारीको भनाइ छ । किसानले अहिले औसतमा प्रतिलिटर ५३ रुपैयाँमा सहकारीलाई दूध बिक्री गर्दै आएका छन् ।

२०४९ सालमा सहकारी विभागमा दर्ता भएको गंगानगर दुग्ध उत्पादक सहकारी चितवनका पुराना दुग्ध सहकारीमध्ये एक हो । यसले उपभोक्तालाई गुणस्तरीय र स्वस्थ्यकर दूध तथा दुग्ध परिकार उपलब्ध गराउने उद्देश्यले दुग्ध उद्योगको स्थापना गरेको बताइएको छ । 

गंगानगर दुग्ध उत्पादक सहकारीले गत आर्थिक वर्षमा १५ करोड रुपैयाँको आर्थिक कारोबार गरेको छ । चालु आर्थिक वर्षमा २० करोड रुपैयाँको आर्थिक कारोबार हुने सहकारीकाृे अनुमान छ । पशुपालनबाट स्वरोजगार सिर्जना तथा गरिबी निवारणमा योगदान दिने सहकारीको उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस