राष्ट्रिय सभा सदस्य पनि अब प्रधानमन्त्री !

पत्रपत्रिकाबाट

सोमबार, १२ फागुन २०७६, ०८ : २०
राष्ट्रिय सभा सदस्य पनि अब प्रधानमन्त्री !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ । नेकपा सचिवालय बैठकले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

शनिबार प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गरे पनि यो निर्णय सार्वजनिक गरिएको थिएन । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा सो कार्यदल गठन भएको हो । नेकपा स्रोतले दिएको जानकारीअनुसार कार्यदलको सदस्यमा नेकपा संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा छन् ।

नेकपा उपाध्यक्ष रहेका वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने चर्चा लामो समयदेखि चलिरहेको छ । तर, गौतमले राष्ट्रियसभा सदस्य पनि प्रतिनिधिसभा सदस्यजस्तै प्रधानमन्त्री हुने गरी संविधान संशोधन भए मात्रै आफू राष्ट्रियसभा सदस्य स्वीकार गर्ने बताउँदै आएका छन् ।

तर, कार्यदल सदस्य रहेका नेम्वाङले संविधान संशोधनका लागि कार्यदल गठन भएको बारेमा आफूलाई जानकारी नभएको बताए । आफूलाई कुन कार्यदलको सदस्य बनाएको हो भनेर आधिकारिक रूपमा जानकारी नदिइएको पनि उनले बताए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस