मगर एकता दिवस मनाउँदै नेपाल मगर संघ

सफल खबर संवाददाता

शनिबार, १० फागुन २०७६, १६ : ५१
मगर एकता दिवस मनाउँदै नेपाल मगर संघ

तस्विर : सूर्यप्रकाश कँडेल

चितवन । नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले फागुन १५ गते ३८औं राष्ट्रिय मगर एकता दिवस मनाउने भएको छ । संघको कार्यालय नारायणगढमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मगर एकता दिवसबारे जानकारी दिइएको हो ।

मगर संघका जिल्ला अध्यक्ष खिमबहादुर थापा मगरले फागुन १५ गते बिहीबार बिहान दस बजे नारायणगढको क्याम्पाचौरबाट शोभायात्रा सुरु गरिने जानकारी दिए । उनका अनुसार साँस्कृतिक झाँकीसहितको शोभायात्रा लायन्सचोक, शहीदचोक, पुलचोकहुँदै नारायणी नदी किनार प्रदर्शनी मैदानमा पुगेर सभामा परिणत हुनेछ । उक्त सभामा मगर समुदायले सालैजो, कौरा, सोरठी, झ्याउरे लगायतका नृत्य र गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको अध्यक्ष खिमबहादुरले बताए ।

संघका जिल्ला सचिव सजन मगरले स्वदेश र विदेशमा रहेका लाखौं मगरहरुको नेतृत्व गर्ने साझा संगठन नेपाल मगर संघ भएको जानकारी दिए । संघले मगरहरुको इतिहास, पहिचान, कला, सँस्कृति, भाषा र धर्मको संरक्षणका लागि निरन्तर काम गर्दै आएको उनी बताउँछन् ।

यस्तो छ संघको इतिहास

गुल्मी जिल्लाको भार्से गाउँमा २०१२ साल फागुनमा क्याप्टेन पूर्णबहादुर घर्ती मगरको नेतृत्वमा मगर समाज सुधार संघको गठन भएको पाइन्छ । त्यसको २६ वर्षपछि बुटवलमा २०३८ साल माघमा नेपाल लाङ्घाली परिवार संघ केन्द्रीय तदर्थ समिति गठन भयो । २०३९ साल फागुन १५ र १६ गते तनहुँमा संघको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । 

संघको पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटनको दिन फागुन १५ गतेलाई राष्ट्रिय मगर एकता दिवसको रुपमा मगर समुदायले मनाउँदै आएका छन् । लाङ्घाली परिवार संघबाट नाम परिवर्तन भई नेपाल मगर संघ बनेको २०४८ साल माघ १० र ११ गते काठमाडौंमा सम्पन्न चौथो महाधिवेशनबाट हो ।

प्रतिक्रिया दिनुहोस