सानेपा हत्याकाण्ड : मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ भेटिएन, प्रहरीको अनुसन्धान कता सोझिँदै छ ?

सफल खबर संवाददाता

शनिबार, १० फागुन २०७६, १३ : २०
सानेपा हत्याकाण्ड : मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ भेटिएन, प्रहरीको अनुसन्धान कता सोझिँदै छ ?

काठमाडौँ । ललितपुर सनेपाका पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्की हत्या प्रकरणमा प्रहरीले हालसम्म कुनै तथ्य फेला पार्न सकेको छैन । प्रहरीले न त मुनाको हत्याको कारण पत्ता लगाउन सकेको छ, न त कामदार विजय चौधरीको आत्महत्याको सही कारण नै पत्ता लगाएको छ । 

मुना र विजयको दुबैको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएपछि प्रहरी आफैँ घटनाले जटिल मोड लिन सक्ने बताइरहेकोछ । यद्यपी प्रहरीले अनुसन्धानलाई अझ पराकिलो बनाउँदै लगेको छ ।  सिसीटिभीको आधारमा सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले नै ४८ वर्षीय मुनाको हत्या गरेको र पछि आत्महत्या गरेको दावी गरिरहेको प्रहरीले मोबाइलको फरेन्सिक ल्याबमा कुनै क्लुहरु नभेटेपछि प्रहरीले भनेको छ, ‘विजयले अपराध गर्नुपर्ने कुनै स्पष्ट कारण हालसम्म देखिएको छैन ।’

मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि पठाइएको ११ दिन रिपोर्ट प्रहरीले बुझेको छ। तर, प्रहरीले अहिलेसम्म विजयको मोबाइलको रिपोर्ट मात्र विश्लेषण गरेको बताएको छ। हत्या तथा आत्महत्याको कुनै कारण पत्ता लाग्न सकेको छैन । 

‘विजयले प्रयोग गरेको मोबाइलमा हिंसाको उद्देश्य देखाउने र घटनाप्रति लक्षित कुनै संकेत फेला परेन,’ महानगरीय प्रहरी परिसर जावलाखेलले भनेको छ, ‘रिपोर्ट सरसर्ती अध्ययन गर्दा विजयले हिंसा गर्नुपर्ने किसिमका गतिविधि त्यसमा फेला परेको छैन।’ प्रहरीले थप अनुसन्धान थालेको छ । विजयको व्यवहार हिंसात्मक रहेको कुनै लक्षण मोबाइलबाट फेला नपरेपछि प्रहरीले अनुसन्धानलाई अझ फराकिलो बनाएको छ । विभिन्न कोणबाट हेरेर थप विश्लेषण गरिरहेको छ । 

माघ २७ गते बिहान नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीले सानेपास्थित आफ्नो घरभित्रै पत्नी मुना र कामदार विजयलाई अचेत अवस्थामा फेला पारेका थिए। भान्सामा रगताम्मे अवस्थामा अचेत भेटिएकी मुनालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। मृत भेटिएका विजयको शवमाथि भने चुँडिएको डोरी फेला परेको थियो।

प्रहरीले सिसीटिभी फुटेजमा कामदार विजयले मुनाको हत्या गरेको प्रष्टै देखिएको बताइरहेको छ । फरेन्सिक अध्ययनबाट मोबाइलमा डिलिट गरिएका सामग्री पनि ‘रिकभर’ हुने भएकोले प्रहरीले यसलाई घटनाको रहस्य पत्ता लगाउने प्रमुख अस्त्र मानेको थियो। तर, यसबाट पनि विजयको मनसायबारे स्पष्ट जानकारी फेला नपारेपछि प्रहरी अझै अनुसन्धान तन्काउन बाध्य भएको छ।

कार्की परिवारको छिमेकीसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ। सबैसँग कुरा गर्दा विजयले त्यस्तो घटना घटाउनै नसक्ने जवाफ पाएपछि प्रहरी सीसीटिभी फुटेजमा देखिएको प्रमाणसहित थप अनुसन्धानमा जुटिरहेको छ । 

दैनिकजसो घटनाबारे जानकारी लिइरहेको प्रहरीले खास कारण नै पत्ता लगाउन नसकेपछि पछिल्लो दिन अनुसन्धानको दायरा बढाउँदै गएको छ। अनुसन्धानको दायरा बढाउने क्रममै विजयको साथीसँग बयान लिने तयारी भइरहेको छ । विजयले ड्राइभिङ सिकेका ड्राइभरसँग पनि सोधपुछ गरिने प्रहरीको भनाइ छ । 

श्रीमतीको हत्यापछि किरियामा बसेका अर्जुनसँग प्रहरीले बयान लिँदैछ। घटनालगत्तै किरियामा बसेका कारण उनीसँग सोधपुछ गर्न नपाएको प्रहरीले अर्जुनकै आनीबानी, श्रीमती मुनासँगको सम्बन्ध, घरपरिवारमा उनको व्यवहारबाट घटनाको कारण पत्ता लगाउने प्रयास गर्नेछ।

मुना र विजय दुवैले सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्ने गरेको देखिएपछि प्रहरीले सिंगापुरस्थित फेसबुकको एशिया क्षेत्रीय कार्यालयसँग उनीहरुको गतिविधि थाहा हुने सामग्री माग गरेपनि अहिलेसम्म कुनै विवरण उपलब्ध भएको छैन । 

प्रतिक्रिया दिनुहोस