कम्युनिष्टहरु सत्तामा पुगेपछि विचलित हुन थाले : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, ०९ फागुन २०७६, १२ : ५६
कम्युनिष्टहरु सत्तामा पुगेपछि विचलित हुन थाले : प्रचण्ड

काठमाडौं ।  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरु सत्तामा पुगेपछि विचलित हुन थालेको बताएका छन् । उनले यस्तो संकेत विश्व राजनीतिक इतिहासमा मात्र नभई नेपालमा पनि देखिन थालेको बताए । 

शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु क्रान्तिमा हुँदा जनताको मन जित्न सक्ने सत्तामा पुगेपछि विचलित हुन थालेको बताए । 

‘सत्तामा नहुँदा, आन्दोलन र क्रान्तिमा हुँदा निकै ठुलो त्याग, तपस्या र बलिदान गर्नसक्ने, जनतासँग घुलमिल हुनसक्ने जनता जहाँबस्छन् त्यहीँ, जे खान्छन् त्यहीँ खाने, जनता जसरी काम गर्छन् त्यसरी नै काम गरेर जनताको मन जित्न सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिस्ट पार्टी हुन् । तर, सत्ता प्राप्त गरिसकेपछि कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने गरेका घट्ना विश्व इतिहासमा रहेको उनले बताए । ‘नेपालको इतिहासमा पनि त्यस्ता संकेत देखिन थालेका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘सत्तामा गइसकेपछि, पद, प्रतिष्ठा, लोभ, लालचा, बिकृति, विसंगति र भ्रष्टाचारजन्य क्रियाकलापहरु देखिने गरेका छन् ।’

हिजो मृत्युलाई सामना गरेर जस्तोसुकै त्याग र तपस्या गर्न तयार हुने, प्रतिकृयावादीका जेलनेल र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्नसक्ने मान्छेहरु शासन हातमा आइसकेपछि विस्तारै अर्कैअर्कै र जनताबाट कटेको जस्तो हुने गरेको प्रचण्डको भनाई छ ।  उनले गल्ती, कमजोरी करेक्सन गर्ने, गल्ती गर्नेलाई कारवाही गर्ने र पार्टीलाई सुदृढ गर्ने संकल्प गर्नुपर्ने बताए । ‘कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टी नै बनाएर लैजानुपर्ने, शुद्धिकरण गर्ने संकल्प गर्नुपर्छ’, प्रचण्डको भनाइ छ । 

 

प्रतिक्रिया दिनुहोस