आज शिवरात्री, भगवान शिवको पुजापाठ गर्न देशभरिकै शिवालयहरुमा भक्तालुहरुको घुईंचो

सफल खबर संवाददाता

शुक्रबार, ०९ फागुन २०७६, ०८ : ४८
आज शिवरात्री, भगवान शिवको पुजापाठ गर्न देशभरिकै शिवालयहरुमा भक्तालुहरुको घुईंचो

काठमाडौं । हिन्दूधर्मालम्बीहरूको महान पर्व शिवरात्री आज आराध्यदेव शिवको पूजाआराधना धुमधामसंग मनाइँदैछ । शिवरात्रीको अवसरमा देशभरिका शिवालयहरुमा दर्शनार्थी तथा भक्तालुहरुको घुईंचो लागेको छ । काठमाडौंको पशुपतिनाथ, चितवनको देवघाट, गुल्मीको रिडी लगायतका स्थानमाा बिहानै देखि भक्तालुहरु नुहाईधुवाई गरेर पुजापाठमा व्यस्त छन् ।

काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा परिसर साधु–सन्त र बाबाहरुको चहलफल बढेको छ।  नेपाल तथा भारतका विभिन्न स्थानबाट आउने साधुसन्तहरुले पशुपति क्षेत्र भरिभराउ छ। साधुहरु गाँजा, चरेस तानेर लठ्ठ बनेका छन् । किम्बदन्ती अनुसार शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्ल्ेख छ ।

शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु बिहानैदेखि पवित्र नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने दिनका रूपमा हिन्दूधर्मालम्बीले लिने गरेका छन् ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न स्थानबाट तथा छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । । हिन्दु भक्तजनहरुले रातभर जाग्राम बसेर आजको दिन भगवान शिवको पुजा आराधना गर्छन् । 

प्रतिक्रिया दिनुहोस