यस्तो छ पूर्वसभामुख महराको अबको ‘प्लान’

सफल खबर संवाददाता

बुधबार, ०७ फागुन २०७६, ११ : २१
यस्तो छ पूर्वसभामुख महराको अबको ‘प्लान’

file photo

काठमाडौं । संसदका एक महिला कर्मचारी माथि बलात्कार प्रयासको निराधार आरोपमा ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बन्दी जीवन बिताएर निर्दाेष साबित भएका पूर्व सभामुख कृष्ण वहादुर महराले दुई दिन यता खुमलटारस्थित डेरामै बिताएका छन् ।

काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई निर्दाेष साबित गरेपछि उनलाई बधाई दिन जानेहरुको भीड अझैं निवासमा लागिरहेको छ ।  महराको अभियोगलाई देखाउदै उनको राजनीतिक क्यारियर त ध्वस्त बनाउन खोजिएकै थियो, सिंगो माओवादी आन्दोलन र त्यसका नेता कार्यकर्तामा समेत अभियोग लगाउन खोजिए जस्तो गरी अगाडी बढाईएको उक्त अभियोगमा अदालतले नै सफाई दिएपछि महराको मात्र जीत भएको छैन, १० वर्षे जनयुद्ध माथी लगाउन खोजिएको आरोपको पनि खण्डन भएको छ । 

जेलबाट छुटेपछि महराले यस प्रकरणका विषयमा खास टिप्पणी गरिहालेका छैनन् । एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ भनेर वक्तब्य भने दिएका उनले आफु षडयन्त्रको शिकार बनेको र यसको पटाक्षेप बिस्तारै हुदैजाने मात्र प्रतिक्रिया दिएका छन् । उनको निवासमा प्रतिक्रिया लिन पुगेका सञ्चारकर्मीको भीडलाई पनि उनको त्यही एउटै जवाफ मिलिरहेको छ–‘अहिले मलाइ धेरै बोल्न बाध्य नपार्नुहोस, घटनाक्रमले नै बिस्तारै सबै कुरा प्रष्टाईदिनेछ ।’ 

महरालाई एमसीसी सम्झौता सदनवाट अनुमोदन गराउन आनाकानी गरेको र त्यही कारण फसाईएको भन्नेहरु पनि ठूलो संख्यामा देखिदै जान थालेका छन् । एक टेलिभिजनलाई उनले मंगलवार दिएको संझिप्त अन्र्तवार्तामा पनि उनले त्यस्तै संकेत गरेका छन् । इमेज टेलिभिजनलाई दिएको अन्र्तवार्तामा महराले भनेका छन्– ‘मैले एमसीसी संसदमा टेबुल गर्न नदिएको साँचो हो ।

यो कुरा प्रधानमन्त्रीले आफै पनि भन्नु भएको छ । मैले अनुमोदन गर्न हुँदैन भनेको थिएन, केही समय पर्खनु पर्छ भनेको थिएँ । म माथिको षडयन्त्रको एउटा कारण यो पनि हो ।’ थप कारण उनले खोलेका छैनन् । मात्र भनेका छन, पछि बताँउला । आफु माथी लागेको आरोपका विषयमा चर्चा गर्न नचाहेका महराको अबको कदम के हुन्छ ? जनचासो अहिले यतातिर केन्द्रीत देखिन्छ । पार्टीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले अदालतले सफाई दिए लगत्तै टेलिफोन गरी उनलाई बधाई दिएका थिए । 

अब, उनको पार्टी जिम्मेवारी र पदीय हैसियत कायम गरिदिनुपर्ने आवाज पार्टीभित्रैबाट उठेको छ । सभामुखमा रहँदा पार्टीबाट राजीनामा दिएका उनको अबको पार्टी राजनीतिक ब्यवस्थापनका विषयमा नेताहरुमाथी कार्यकर्ता तहबाटै दबाब बढ्न थालेको छ । 

उनले भने पहिले आफु निर्वाचित क्षेत्र दाङ जाने योजना बनाएको उनी निकट स्रोतको भनाई छ । ‘म जनताको बीचमा जान्छु पहिले, आफुलाई निर्वाचित गरेका जनतासँग मैले आफना कुरा राख्नुपर्छ ।

दाङ रोल्पा तिरका मान्छेले मलाई असाध्यै माया गर्नुहुन्छ, उहाँहरुसँग भलाकुुसारी गर्न मलाई असाध्यै मन छ, त्यहाँका जनतासँग साक्षात्कार गर्छु पहिले,’महराले उनलाई भेट्न जानेहरुसँग भन्न थालेका छन्, –‘त्यसपछि अरु विषयमा सोच बनाऔंला ।’ महरा अब संसद पनि जानेछन् । तर त्यस अगाडी उनी निर्वाचन क्षेत्र जाने र मात्र संसद जाने की भन्ने सोचमा देखिन्छन ।

‘संसद पहिले जाने की निर्वाचन क्षेत्र भन्ने विषयमा उहाँ सोचिरहनु भएको छ, सायद जिल्ला गएर आएपछि मात्र संसद जान थाल्नुहोला की ?’ उनी निकट स्रोतले बतायो ।  उनले संसदमा नियमति जान थालेपछि भने आफु माथीको आरोप का विषयमा भण्डाफोर गरेर जाने विषयमा सोचेका छन् । पार्टी अध्यक्ष प्रचण्डसँग पनि यो बीचमा एक चरण छलफल गर्ने र त्यसपछि मात्र आफनो आगामी प्लान तय गर्ने तयारीमा यतिखेर महरा देखिएको स्रोतको भनाई छ । 

प्रतिक्रिया दिनुहोस