प्रजातन्त्र स्थापना पछि मुलुक नयाँ युगमा प्रवेश : काँग्रेस सभापति देउवा

बुधबार, ०७ फागुन २०७६, १० : १४
प्रजातन्त्र स्थापना पछि मुलुक नयाँ युगमा प्रवेश : काँग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्नुभएको छ ।

७० औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक प्रेस वक्तव्य जारी गर्दै उहाँले फागुन ७ गते नेपाली जन–सङ्घर्षको इतिहासको एक अवस्मरणीय दिन भएको उल्लेख गर्नुभयो । विसं २००७ कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले नै १०४ वर्षीय एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर प्रजातन्त्रको स्थापना गरेको उहाँले बताउनुभएको छ ।

‘प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनले देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रूपमा अग्रगामी परिवर्तन ल्यायो’, विज्ञप्तिमा उल्लेख छ । यसले जातजाति, धर्म, लिङ्ग वा वर्गको आधारमा हुने भेद्भाव हटाएर शोषणरहित समाज निर्माणमा मुलुकलाई अग्रसर गराएको सभापति देउवाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

प्रजातन्त्रले बलियो राष्ट्रियताको आधार पनि निर्माण गरेको र त्यसैले नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएर रहेको उहाँको भनाइ छ । देशमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौं सपूतहरुले प्रजातन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै उहाँले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सकेमात्र शहीदप्रति सच्चा सम्मान प्रकट हुने बताउनुभएको छ । प्रजातन्त्र स्थापनाको ऐतिहासिक दिनमा सभापति देउवाले सम्पूर्ण शहीदको त्याग र बलिदानको संस्मरण गर्दै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । (रासस)