नेपालीलाई लिन शनिबार ३ बजे जहाज उड्ने, १७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने शर्तमा

पत्रपत्रिकाबाट

विहीबार, ०१ फागुन २०७६, ०७ : ५०
नेपालीलाई लिन शनिबार ३ बजे जहाज उड्ने, १७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने शर्तमा

काठमाडौं । कोरोना प्रभावित चीनको हुबेई प्रान्तमा रहेका १ सय ८० जना नेपाली विद्यार्थी लगायतलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौँबाट त्यसतर्फ जाने भएको कान्तिपुर दैनिकमा समाचार छ ।

मन्त्रिपरिषद्को मंगलबार साँझ भएको बैठकले जहाज पठाउने निर्णय गरेसँगै निगमले वुहानका लागि उक्त समयतालिका सार्वजनिक गरेको हो । ‘शनिबार दिउँसो पौने ३ बजे हाम्रो जहाज काठमाडौँबाट वुहान जाँदै छ,’ निगमको अपरेसन विभाग प्रमुख दीपुराज जुहार्चनले भने, ‘उताबाट फर्कदा राति सवा २ बजे जहाज काठमाडौँ अवतरण हुनेछ ।’

उक्त विमानमा निगमका तीन पाइलट, छजना क्याबिन क्रु, इन्जिनियर, प्राविधिक, फ्ल्याइट डिस्प्याचर र लोडमास्टर एक–एक जना रहनेछन् भने नेपाली सेनाका चारजना चिकित्सक रहनेछन् । नेपाली सेना र स्वास्थ्य मन्त्रालयका चिकित्सकले बुधबार निगमको केन्द्रीय कार्यालयमा चीन जाने टोलीसहित विमानस्थलमा रहेका निगमका कर्मचारीहरुलाई तालिम दिएका थिए । निर्देशक जुहार्चनका अनुसार चिकित्सकहरुले पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीआई) प्रयोगबारे सिकाएका थिए ।

उक्त उडानपछि जहाज र चालक दललगायत निगमका कर्मचारीलाई कति घण्टा क्वारेन्टाइनमा राख्नेबारे भने सरकारले कुनै निर्णय गरिसकेको छैन । यसबारे स्वास्थ्य संगठनले तोकेको मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।