काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका एक बिरामी टेकु अस्पतालबाट भागेका छन् । उनी साउदी अरबका नागरिक हुन् ।
चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सामान्य चेकजाँच गर्ने क्रममा उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो । तर, निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागेका हुन् ।
उनको कोरोना परीक्षण गर्न बाँकी थियो । भाषाको समस्या भएकाले उनलाई नियन्त्रणमा राख्न नसकिएको श्रेष्ठले बताए । अहिले उनको खोजी भइरहेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार आज बुधबारमात्रै कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई टेकु अस्पताल भर्ना गरिएको छ । चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई भर्ना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस