विप्लव पार्टीलाई एकपछि अर्काे झट्का : नेकपा प्रवेशको लहर

सफल खबर संवाददाता

सोमबार, २७ माघ २०७६, ११ : २४
विप्लव पार्टीलाई एकपछि अर्काे झट्का : नेकपा प्रवेशको लहर

काठमाडौँ । किसान महासंघको अध्यक्षले पार्टी छोडेको एक साता नविन्दै अर्का जिल्ला इन्चार्जले पनि पार्टी छोडेका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई एक पछि अर्काे धक्का लाग्न थालेको छ । पार्टीका कतिपय नेता कार्यकर्ताले अहिले उक्त पार्टी छोडेर सत्तारुढ दल नेकपामा प्रवेश गर्ने लहर चलेको छ ।

उक्त पार्टीका किसान संगठनका अध्यक्ष राजु कार्कीले पार्टी छोडेर नेकपा प्रवेश गरेको एक सता नविप्दै विप्लवका पार्टीका अर्का एक जिम्मेवार नेताले पनि पार्टी छोडेका छन् । आज विहानै मात्र विप्लव पार्टीका मेची–कोशी व्यूरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज उदय राई (उगेन) सत्तारुढ दल नेकपा प्रवेश गरेका हुन् ।

उनलाई नेकपाका अध्यक्ष प्रचण्डले आफ्नै निवासमा आयोजित एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले देशको समृद्धि र विकासको निर्विकल्प पार्टी नेकपा भएकाले देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरुको मूलप्रवाहमा समाहित भई राष्ट्र निर्माणमा जुट्नु पर्ने बताएका थिए ।

नवप्रवेशी राईले विप्लव नेतृत्वको पार्टीले गरेको अराजक गतिविधिहरु प्रतिगामी, यथास्थितिवादी शक्ति र प्रवृत्तिलाई मलजल गर्ने  मात्रै देखिएको र समानतासहितको वैज्ञानिक समाजवादी व्यवस्थाको आधार खडा गर्दै जानु अहिलेको महत्वपूर्ण र ऐतिहासिक आवश्यकता भएकाले सो समूह परित्याग गरेको बताएका थिए ।

उनले विप्लव नेतृत्वको नेकपाको भ्रममा परेर रहेका सम्पूर्ण इमान्दार र क्रान्तिकारी साथीहरुलाई अहिलेको आवश्यकतालाई बोध गरी मूलधार नेकपामा आउन आह्वान र आग्रह पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस