कोरोना भाइरस संक्रमण : नेपालीलाई ल्याउन अझै आलटाल

पत्रपत्रिकाबाट

आइतबार, २६ माघ २०७६, ०८ : ३६
कोरोना भाइरस संक्रमण : नेपालीलाई ल्याउन अझै आलटाल

काठमाडौं । चीनको उहान सहरमा रहेका नेपालीलाई ल्याउन सरकारले आलटाल गर्दै आएपछि अभिभावकहरू राष्ट्रिय मानवअधिकार आयोग जाने भएका छन् । आफ्ना छोराछोरी र आफन्तलाई सरकारले ल्याउन अग्रसरता नदेखाएको भन्दै अभिभावकहरूले त्यसविरुद्ध अनशन बस्ने चेतावनीसमेत दिएका छन् ।
सरकारले आश्वासन मात्रै दिएको भन्दै उनीहरू सरकारविरुद्ध आक्रामक भएका हुन् । अभिभावक विमला श्रेष्ठका अनुसार सरकारले झुटो आश्वासन दिएको भन्दै अब संगठित भएर मानवअधिकार आयोग जाने तयारी भएको छ । उनले भनिन्, ‘छोराछोरी नेपाल नल्याए अनशन बस्छौं । सरकार एक÷दुई दिनमै ल्याउने भन्छ, यो भनेको पनि धेरै भइसक्यो, सरकारप्रति निराशा जागिसक्यो । अब मानवअधिकारवादीलाई पनि भेट्छौं ।’

अभिभावकहरूले समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएका छन् । अभिभावक कृष्णकुमारी भण्डारीले सरकार संवेदनशील नभएको बताइन् । उनले भनिन्, ‘सरकारसँग हारगुहार गरेका छौं । तर, सरकारले यही मितीमा ल्याउँदै छौं भनेर ठोस जवाफ दिँदैन । के गर्नु ?’
चीनमा रहेका नेपाली ल्याउन नेपाल सरकारले अझै तयारी पूरा गर्न सकेको छैन । नेपालीलाई ल्याउन क्वारेन्टाइन, आइसोलेसन आर्ड, आवश्यक प्रयोगशाला र आईसीयू वार्ड आवश्यक सबै चिज तयारी अवस्थामा हुनुपर्छ ।
हाल चीनमा रहेका नेपालीले यथाशीघ्र नेपाल ल्याउन सरकारसमक्ष पटकपटक आग्रह गर्दै आएका छन् । तर, सरकारले भने नआत्तिन भन्दै आश्वासन मात्रै दिँदै आएको छ ।

हाल चीनमा ७ हजार नेपाली छन् । जसमध्ये १ सय ८० जनाले गत १९ माघमा चीनस्थित नेपाली राजदूतावाससमक्ष फारम भरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफूहरू चीनमा रहेका नेपालीलाई छिटो उद्धार गर्न गम्भीर रहेको बताए । उनले भने, ‘तर, हामी चिन्तित छौं, डब्लूएचओको मापदण्ड पूरा गर्न नसक्दा अप्ठेरो भएको छ ।’
हालसम्म एक जना नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ भने १४ जना नेपालीमा नेगेटिभ देखिएको छ ।
कोरोना भाइरस संक्रमणबाट ७ सय २३ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार ८ सय ४२ जनालाई संक्रमणको पुष्टि भइसकेको छ ।

चार ठाउँ खाली गराइयो
सरकारले चार स्थानमा क्वारेन्टाइनको व्यवस्था गर्दै भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईवटा भवन खाली गराएको छ । यस्तै, दक्षिणतर्फको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले यथाशीघ्र चीनमा रहेका नेपालीलाई ल्याइने बताए । उनले भने, ‘हामी तीव्र तयारीमा छौं । तर, ठ्याक्कै मिति नै भन्नचाहिँ सकिँदैन ।’
चीनको वुहानमा रहेका नेपाली चिकित्सक डा. रमेश आचार्यले वुहानमा रहेका नेपालीलाई यथाशीघ्र उद्धार गर्न आग्रह गरे । उनले भने, ‘तुरुन्त उद्धार गर्न नेपाल सरकारले तदारुकता देखाउनुपर्छ । धेरै ढिलो भइसक्यो ।’

मनोवैज्ञानिक त्रासमा चीनमा रहेका नेपाली
हामीले सहयोगका लागि नेपाल सरकारसँग गुहार मागिरहेका छौं । यहाँ खानेकुराको चरम अभाव छ । धाराको पानी प्रयोग गर्न बाध्य छौं । इन्फेक्सन हावाबाट आउँछ कि भन्ने डरले झ्याल खोलेर हेर्नसमेत त्रास छ । बासी सडेगलेका खानेकुरा खानुपर्ने बाध्यता आएको छ । पैसा छैन, बैंकहरू बन्द छन् । नेपाल सरकारले लैजान्छ भन्ने सुनेको १५ दिन बढी भइसक्यो । हामी बसेको ठाउँदेखि दुई सय मिटर पर हस्पिटल छ । त्यहाँबाट सर्ने सम्भावना देखिन्छ । जुनसुकै बेला संक्रमण हुन्छ भन्ने मनोवैज्ञानिक त्रासमा छौं । हाम्रा साथीहरू एउटा अपार्टमेन्टमा एक्लैसमेत बसेका छन् । अन्य देशका विद्यार्थीलाई आफ्नो सरकारले लगिसक्यो । हाम्रो सरकार भने भोलि ल्याउँछांै भन्दै आश्वासन मात्रै दिन्छ ।  राजधानी दैनिकमा खबर छ ।