अख्तियार पुर्वाग्राही भएर कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन : काँग्रेस

शुक्रबार, २४ माघ २०७६, १५ : ५९
अख्तियार पुर्वाग्राही भएर कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन : काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास प्रकरणमा मुद्दा दायर गरेपछि सडक संघर्षमा गएको छ । नेपाली कांग्रेस पार्टीले सडक संघर्षमा आफ्ना सम्पूर्ण भातृ संगठनहरुलाई परिचालन गरेको छ । 

आज कांग्रेसले माइतीघर मण्डलामा भ्रातृ संगठनलाई सरकारविरद्ध उतारेको हो । मातृ पार्टीको निर्देशनमा नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको थियो ।

सरकार र अख्तियारविरुद्ध मण्डलामा झन्डै डेढ घण्टा प्रदर्शन गरेको हो । कांग्रेसले बिहीबार भ्रातृ संगठनका पदाधिकारीहरूसँग छलफल गरेर सरकार र अख्तियारविरुद्ध सडक संघर्षमा जान निर्देशन दिएको छ । 

सडकमा नेविसंघका विद्यार्थीहरुले अख्तियार पूर्वाग्रही रूपमा लागेर कसैलाई काखा र कसैलाई पाखा गर्न उद्दत रहेका कारण सडक संघर्षमा उत्रिएको बताएका थिए । 

“हामी यहाँ हाम्रा नेतालाई बचाउन आएका होइनौं । कसैलाई काखा कसैलाई पाखा गर्ने अख्तियारको कदमको विरोध गर्न आएका हौं,” नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले भने, ‘ “मन्त्रिपरिषद्मा निर्णय गर्ने माधव नेपाललाई कारबाही नहुने, गच्छदारलाई हुने । मुख्यसचिवलाई नहुने, सचिवलाई कारबाही हुने ?

उनले ललिता निवासको जग्गाको लालपुर्जा लिने नेकपाका महासचिव विष्णु पौडेल र उनका छोरा नवीन पौडेललाई पनि कानुनी दायरामा ल्याउन माग गरे । 

यस्तै नेविसंघका नवनियुक्त अध्यक्ष राजीव ढुंगानाले पनि शुक्रबारबाट सुरु भएको सडक संघर्ष उपसभापति गच्छदार जोगाउनका लागि नभएको जिकिर गरे । 

माइतीघरको प्रदर्शनपछि आयोजित कोणसभालाई नेविसंघका महामन्त्री बलदेव तिमल्सिना, डेमोक्रेटिक लयर्स एसोसिएसन डीएलएका प्रतिनिधि राजकुमार उप्रेती, जनजाति नेता आईबी गुरुङलगायतले सरकार र अख्तियारको पूर्वाग्रही व्यवहारका विरुद्धको आन्दोलन थप चर्काउँदै लैजाने बताए ।

उनीहरुले ‘बालुवाटार जग्गा प्रकरण(आफ्नालाई जोगाउने, अरुलाई फसाउने’, तिलकुमारीलाई जेल, विष्णु पौडेललाई माफी’, क्याबिनेटको निर्णयमा मन्त्री जवाफदेही हुन्छ कि प्रधानमन्त्री’, ‘सरकार तेरो भ्रष्टाचार किन मात्र गच्छदार’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
 

प्रतिक्रिया दिनुहोस