कुखुराको चल्ला उत्पादन बन्दको असर : चल्ला, अण्डा र मासुमा मूल्यवृद्धि

सूर्यप्रकाश कँडेल

विहीबार, २३ माघ २०७६, १९ : १०
कुखुराको चल्ला उत्पादन बन्दको असर : चल्ला, अण्डा र मासुमा मूल्यवृद्धि

तस्विर : सूर्यप्रकाश कँडेल

चितवन । नेपाल ह्याचरी उद्योग संघले करिब दुई महिनाअघि चल्ला, अण्डा र कुखुराले उत्पादन लागत पाउन नसकेको भन्दै दस दिनसम्म चल्ला उत्पादन कार्य बन्द गरेपछि यतिबेला आएर त्यसको असर देखा परेको छ । बजारमा माग अनुसार ब्रोइलर कुखुरा उत्पादन हुन नसक्दा त्यसको मासुमा अचाक्ली मूल्यवृद्धि भएको छ । चल्ला र अण्डामा समेत मूल्यवृद्धि भएको छ ।

बजारमा ब्रोइलर कुखुराको मासु अहिले तीन सय ८० देखि चार सय रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । दुई महिनाअघि मासुको मूल्य प्रतिकिलो दुई सय ६० रुपैयाँ थियो । प्रति क्रेट (३० गोटा) अण्डा दुई सय ८० रुपैयाँ थियो । अहिले अण्डाको मूल्य प्रति क्रेट तीन सय २० रुपैयाँ पुगेको छ । पहिले ४० रुपैयाँमा पाइने चल्ला अहिले ७० रुपैयाँ पुगेको छ । चल्ला, अण्डा र मासुको मूल्य बढेपछि बिक्री घटेको छ ।

देशभर दैनिक करिब पाँच सय मेट्रिक टन कुखुराको मासु उत्पादन हुने गरेको छ । मासुको कूल उत्पादनमध्ये २० प्रतिशत अर्थात् दैनिक एक सय टन मासु चितवनमा उत्पादन हुन्छ । नेपालमा अहिले दैनिक १८ लाख गोटा अण्डा उत्पादन हुन्छ । यसमध्ये दैनिक दस लाख गोटा अण्डा चितवनमा उत्पादन हुँदै आएको छ ।

ह्याचरीले ल्यायो हलचल

नेपालमा तीन सयभन्दा बढी ह्याचरी उद्योग छन् । ती उद्योगबाट प्रति हप्ता ४५ लाख ब्रोइलर, दुई लाख ५० हजार लेयर्स र एक लाख ७० हजार कलर ब्रोइलर (कोइलर) चल्ला उत्पादन हुँदै आएको छ । गत मंसिर २७ गते देशभरका ह्याचरी उद्योगीहरुको राष्ट्रिय भेला चितवनमा भएको थियो । उक्त भेलाले चल्लाको उत्पादन अधिक भएको र उत्पादन मूल्य समेत नपाएको भन्दै मंसिर २९ गतेबाट दस दिनसम्म कुनै पनि ह्याचरीबाट चल्ला उत्पादन नगर्ने निर्णय गरेको थियो ।

गत मंसिर २८ गते भरतपुरमा पत्रकार सम्मेलन गरी ह्याचरी उद्योग संघका पदाधिकारीले चल्ला उत्पादन बन्द गर्ने निर्णय सार्वजनिक गरेका थिए । त्यतिबेला दस दिनसम्म चल्ला उत्पादन बन्द हुँदा ६० लाख चल्ला बजारमा आउन पाएन । त्यसैको असर अहिले चल्ला, मासु र अण्डाको मूल्यवृद्धि भएको छ । ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल दानाको मूल्यवृद्धि र जाडोको समयमा कुखुराको मृत्युदर बढी हुने कारण किसानले चल्ला कटौती गरेकोले बजारमा मासु अभाव भएको र मूल्य बढेको बताउँछन् ।

जीडीपीमा पोल्ट्रीको योगदान

देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा चार प्रतिशत योगदान रहेको पोल्ट्रीमा देश आत्मनिर्भर भइसकेको छैन । देशभरमा पोल्ट्रीको ठूलो हिस्सा ओगटेको चितवन जिल्लालाई पोल्ट्रीको राजधानी मानिन्छ । चितवनलाई पोल्ट्रीको राजधानी मान्नुको आधार भनेको यस क्षेत्रमा भएको लगानी र उत्पादन हो । नेपालमा पोल्ट्री क्षेत्रमा भएको एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको लगानीमध्ये ६० प्रतिशत लगानी चितवनमा छ । पोल्ट्री क्षेत्रमा एक लाख ८० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

अण्डा, चल्ला, कुखुरा र दाना खरिद बिक्री गर्ने देशभरका एक हजार पोल्ट्री सप्लायर्समध्ये दुई सय चितवनमा छन् । कुखुरापालन क्षेत्रबाट देशरभमा करिब दुई लाख व्यक्तिले रोजगारी पाएका छन् । 

पोल्ट्री व्यवसायलाई व्यवस्थित गर्न र यो व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाबीच समन्वय गर्न चितवनमा नेपाल कुखुरा व्यवसायी मञ्चको केन्द्रीय कार्यालय स्थापना गरिएको छ । मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालका अनुसार, मञ्चमा विभिन्न आठ वटा व्यवसायिक संस्था आवद्ध छन् । मञ्चमा आवद्ध संस्थाहरुमा नेपाल अण्डा उत्पादक संघ, नेपाल कुखुरा बजार व्यवस्थापन संघ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल दाना उद्योग संघ, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, कुखुरा मासु व्यवसायी संघ र चितवन नवलपुर दाना वितरक संघ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस