काठमाडौं । एक महिनासम्म नेतृत्वविहीन बनेको जिल्ला प्रहरी कार्यालय चितवनले बल्ल नयाँ एसपी पाएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङलाई पठाएको छ ।
चितवनमा सरुवा गरिएकी एसपी गंगा पन्त राजनीतिक दबाबका कारण चितवन आउन सकिनन् । उनलाई पर्सा जिल्ला पठाइएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्रीले चितवनमा नान्तीराज गुरुङलाई पठाइएको पुष्टि गरे ।
चितवनका तत्कालीन एसपी दानबहादुर मल्लको विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरुवा भयो । चितवनमा गंगा पन्त पठाइएको थियो । एसपी दानबहादुर मल्ल सरुवा भएपनि लामो समयसम्म चितवन छाडेनन् । चर्को दबाबपछि चितवन छाडे मल्लले । मल्लले चितवन छाडेको एक महिनापछि चितवनले बल्ल एसपी पाएको छ ।
प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सम्बन्धी स्टाटसमा चितवन सरुवा भएकी गंगा पन्तले फेसबुक कमेन्टमा ‘रिप’ लेखेपछि उनको केही अघि आलोचना भएको थियो । त्यही विषयलाई लिएर पन्तलाई चितवनमा जानबाट रोक लगाइएको हो ।
पन्तलाई चितवन पठाउन नसकेपछि प्रहरी हेडक्वार्टरले उनलाई पर्साको जिम्मेवारी दिएको छ ।
पर्सामा रहेका हालका एसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं प्रहरी परिसर, टेकुमा ल्याइएको छ ।
बारामा प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई पठाइने भएको छ । उनी प्रहरीभित्र स्वच्छ र इमान्दार प्रहरीका रुपमा परिचित छन् । उनले यसअघि जिल्ला प्रहरी कार्यालय भोजपुर र महानगरीय प्रहरी वृत्त जनसेवाको सफलता पूर्वक जिम्मेवारी वहन गरिसकेका छन् ।
काठमाडौं प्रहरीका एसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा सरुवा भएको छ भने बाराका एसपी विकास खनालको ५ नं प्रदेश प्रदेश दंगा नियन्त्रण गण, सुनवलमा सरुवा भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ माघ २०७६, १७ : ०५
लेखकबाट थप