भरतपुर गोल्डकपको दोस्रो संस्करण फागुन २४ देखि

सफल खबर संवाददाता

मंगलबार, २१ माघ २०७६, १२ : ४८
भरतपुर गोल्डकपको दोस्रो संस्करण फागुन २४ देखि

चितवन । चितवनकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भरतपुर गोल्डकपको दोस्रो संसकरण आगामि फागुन २४ देखि सुरु हुनेभएको छ । प्रतियोगिताबारे आयोजक ए जे इन्टरनेश्नलले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

प्रतियोगिता चैत्र ३ गत्तेसम्म नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुने संयोजक आलोक प्रताप राणाले बताए । प्रतियोगितामा विभिन्न ६ वटा ए डिभिजन क्लब र ४ वटा जिल्ला क्लवहरु सहित १० क्लबको सहभागिता रहनेछ । 

प्रतियोगिताका विजेता टिमले १० लाख र दोस्रो हुने टिमले नगद ५ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन । पहिलो संसकरणमा प्रथमलाई ६ लाख, दोस्रोलाई ३ लाख पुरस्कार दिइएको थियो । 

खेलमा हरेक दिनको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र दिइनेछ । यस्तै प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसहित ट्रफि र मेडल प्रदान गरिने संयोजक राणाले बताए । 

प्रतियोगिताको सहआयोजकमा चितवन जिल्ला फुटबल संघ रहेको छ । प्रतियोगिता हेर्न ३ हजार दर्शक अट्ने १५० मिटर लामो प्याराफिट बनाइने छ भने भिआइपीका लागी छुट्टै २ सय जना अट्टने प्याराफिट तयार हुनेछ । वृद्धवृद्धा र १२ वर्ष मुनीका बालबालिकाका लागि निःशुल्क प्रवेश दिइनेछ । 

हरेक टिमले एन्फाको नियम अनुसार ३ जना विदेशी खेलाडी राख्न पाउने फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए । 
उनका अनुसार खेलाडीका लागी वर्क पर्मिट अनिवार्य गरीएको छ । संकटा क्लब साविक विजेता रहेको छ ।

प्रतिक्रिया दिनुहोस