नेपालमा दैनिक ३० जना शिशुको जन्म मृत अवस्थामा

सूर्यप्रकाश कँडेल

सोमबार, २० माघ २०७६, १९ : ०२
नेपालमा दैनिक ३० जना शिशुको जन्म मृत अवस्थामा

चितवन । जन्मेपछि एक दिन मर्नु पर्छ भन्ने सबैलाई थाहा छ, तर कतिपयले बाँच्ने अवसर नै नपाई मर्नु परिरहेको छ । मृत्युलाई अँगालेर जन्मनेहरुले कसरी बाँच्न पाउन् ? नेपालमा एक वर्षमा ६ लाख शिशु जन्मन्छन् । तीमध्ये ११ हजार शिशुको जन्म मृत अवस्थामा हुन्छ । यसलाई औसतमा निकाल्दा हरेक दिन ३० जना शिशु मृत अवस्थामा जन्मन्छन् । यो तथ्यांक सुन्दा कसको जिउ सिरिङ्ग नहोला ? नेपालमा वार्षिक १३ हजार नवजात शिशु एक महिनाभित्रै मर्ने गरेको तथ्यांक पनि कम कहालीलाग्दो छैन ।

नवजात शिशुको मृत्युदर कम गर्न गोल्डेन कम्युनिटी नामक संस्थाले सात वटा प्रदेशका आठ वटा अस्पतालमा सुसार कार्यक्रम सुरु गरेको छ । ती आठ अस्पतालमध्ये वागमती प्रदेशमा पर्ने भरतपुर अस्पतालमा पनि सुसार कार्यक्रम चलिरहेको छ । यही कार्यक्रमबारे पत्रकारहरुलाई जानकारी दिन सोमबार भरतपुर अस्पतालमा आयोजित कार्यक्रममा माथि उल्लेखित तथ्यांक दिइएको हो ।

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. सुशीलनाथ प्याकुरेलले नेपालको स्वास्थ्य नीतिमा जनताको आधारभुत स्वास्थ्य सेवाको जिम्मेवारी स्थानीय सरकारलाई दिइएको प्रष्ट पारे । उनले भने, नवजात शिशुको मृत्युदर घटाउन आवश्यक काम स्थानीय सरकारले गर्नु पर्छ । यो उनीहरुको दायित्व पनि हो ।

गोल्डेन कम्युनिटीकी कार्यक्रम प्रबन्धक रेजिना गुरुङले गत साउनबाट सुरु भएको सुसार परियोजना दुई वर्षको लागि भएको बताइन् । परियोजना अवधिभित्र आठ वटा अस्पतालमा चार करोड रुपैयाँ खर्च गरी ती सबै अस्पतालका सुत्केरी गराउने कक्ष (लेबर रुम), बाल सघन उपचार कक्ष (एनआईसीयु) र शल्यक्रिया कक्ष (अपरेसन थिएटर) मा कार्यरत सम्पूर्ण कर्मचारीलाई नवजात शिशुको स्याहार सम्बन्धी तालिम दिइने बताइन् ।

तालिमका लागि गोल्डेन कम्युनिटीले ग्र्याण्ड च्यालेन्जेज क्यानडाबाट आर्थिक सहयोग प्राप्त गरेको छ । यसबाहेक नर्वेको ल्याड्रल ग्लोबल हेल्थबाट नवजात शिशुको मृत्युदर रोक्न प्रभावकारी मानिएका उपकरण आठ वटै अस्पताललाई निःशुल्क उपलब्ध गराइने गोल्डेन कम्युनिटीकी सञ्चारविज्ञ सिर्जना शर्माले जानकारी दिइन् । ती उपकरण ६ करोड रुपैयाँ बराबरको हुने ग्लोबल कम्युनिटीले जनाएको छ ।

कार्यक्रममा दिइएको जानकारी अनुसार नवजात शिशु मृत्युदर सबैभन्दा बढी प्रदेश नम्बर दुईमा र सबैभन्दा कम वागमती प्रदेशमा छ । प्रतिहजार जन्ममध्ये प्रदेश नम्बर दुईमा ३१ जना र वागमती प्रदेशमा १८ जना नवजात शिशुको मृत्यु हुने गरेको छ ।

चितवनमा ६ महिनामै सयभन्दा बढी शिशुको मृत्यु
भरतपुर अस्पतालका चिकित्सक डा. युवानिधि बस्यौला गर्भवतीको स्याहारमा कमीको कारण भन्दा पनि व्यथा लागेपछि मर्ने नवजात शिशुको संख्या धेरै भएको बताउँछन् । चालु आर्थिक वर्षको ६ महिनामा ९० नवजात शिशु मृत जन्मिएको र १४ जना शिशुको जन्मपछि उपचारका क्रममा मृत्यु भइसकेको उनले बताए ।

उनका अनुसार भरतपुर अस्पतालमा गत आर्थिक वर्षमा १३ हजार पाँच सय ४५ जना सुत्केरी भएकोमा एक सय ८५ नवजात शिशु मृत जन्मिएका थिए भने जन्मपछि उपचारको क्रममा ३३ जना शिशुको मृत्यु भएको थियो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले सुसार कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउने अपेक्षा गरिएको बताए । उनले नवजात शिशुको मृत्युदरलाई शुन्यमै पुर्याउने लक्ष्य अस्पतालले लिएको दाबी गरे ।

प्रभावकारी बन्दै कंगारु केयर
भरतपुर अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डा. सुनिलमणि पोखरेलले यस अस्पतालमा नवजात शिशु मृत्युदर घट्दै गइरहेको दाबी गरे । गोल्डेन कम्युनिटीको सहयोगमा गत वर्ष चैतबाट भरतपुर अस्पतालले सुरु गरेको कंगारु मदर केयर सेवा प्रभावकारी बनेकोले पनि शिशु मृत्युदर घटेको उनको भनाइ छ ।

चिकित्सकहरुका अनुसार स्वस्थ्य नवजात शिशुको तौल जन्मँदा कम्तीमा दुई किलो पाँच सय ग्राम हुनु पर्छ । दुई किलोभन्दा कम तौल भएका नवजात शिशुलाई कंगारु मदर केयरमा आमासँगै राखिन्छ । उपचारका क्रममा सुत्केरीले नवजात शिशुलाई कंगारुले जस्तै आफ्नो छातीमा टाँसेर राख्ने भएकोले यसलाई कंगारु मदर केयर भनिएको हो ।

प्रतिक्रिया दिनुहोस