नेकपाको निर्णय : नेपालको नक्शा जारी गर्ने, बैठकमा दुई अध्यक्षको फोटो नराख्ने

सफल खबर संवाददाता

आइतबार, १९ माघ २०७६, १७ : २०
नेकपाको निर्णय : नेपालको नक्शा जारी गर्ने, बैठकमा दुई अध्यक्षको फोटो नराख्ने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पाँच दिनको केन्द्रीय कमिटी बैठकले नेपालको आधिकारिक नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

राजधानीमा ५ दिनदेखि जारी केन्द्रीय कमिटी बैठकले देशको आधिकारिक नक्सा जारी गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

कालापानी, लिपुलेक लगायतका नेपाली भू–भाग समेटेर भारतले नक्सा जारी गरेपछि नेपालले पनि आफ्नो नक्सा जारी गर्नुपर्ने भनेर चौतर्फी माग हुँदै आएको छ ।
नेकपाले अबदेखि पार्टीका बैठक तथा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने भएको छ ।

केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि अध्यक्षको फोटो नराख्ने निर्णय सुनाएका हुन् ।

यसका साथै केन्द्रीय कमिटीका सबै सदस्यको सम्पत्ति छानबिनको जिम्मा अनुशासन आयोगलाई दिने निर्णय पनि बैठकले गरेको छ ।

महाधिवेशन तोकिएकै समय २०७७ चैत २५–३० मा गर्ने निर्णय पनि बैठकबाट भएको छ ।

स्थानीय तह, प्रदेश र संघ तीनै तहका सरकार सञ्चालनका लागि संयन्त्र बनाउने निर्णय समेत बैठकले गरेको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जानकारी दिए ।

यसअघि केन्द्रीय सदस्यहरूले उठाएका सबालको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए । प्रचण्ड करीब डेढ घण्टा बोले ।

प्रचण्डले जवाफ दिएसँगै अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित सर्वसम्मतिले पारित भएको नेकपा प्रचार विभागका उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

यस्तै महासचिवले पेश गरेको विधान संशोधन र सांगठनिक प्रस्ताव पनि पारित भएको छ ।

यससँगै सचिवालय सदस्य वामदेव गौतम  पार्टीको उपाध्यक्षमा चयन भएका छन् ।

पार्टी एकताका बाँकी काम १५ दिनभित्र टुंगो लगाइने भएको छ ।  अब हुने मनोनयन र कमिटी गठनहरुमा महिलालाई प्राथमिकता दिने र सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गराइने निर्णय पनि भएको छ । 

प्रचण्डले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द हटाइने र अबदेखि पार्टीका दस्तावेजमा कूटनीतिक मर्यादा अनुकुलका शब्दहरु मात्र राखिने बताएका छन् ।

पार्टीका बैठकहरु नियमित गर्ने र अब कमिकमजोरी हटाएर अघि बढ्ने जवाफ प्रचण्डले दिएका छन् । महासचिव बिष्णु पौडेलले संगठनात्मक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएपछि दुवै प्रतिवेदन सर्वसम्मत पारित भएको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय बल्खुमा निमार्ण हुने भएको छ।

जारी केन्द्रीय समिति बैठकले समसामायिक प्रस्ताव पारित गर्दै तीन महिना भित्र बल्खुमा केन्द्रीय कार्यालय निमार्णका लागि शिलन्यास गर्ने निर्णय गरेको हो।

उक्त बैठकले लिम्पियाधारा, लिपुलेक तथा कालापानी भूमीमा भएको भारतीय हस्तक्षेपको विरोधसमेत गरेको छ।
 

प्रतिक्रिया दिनुहोस