टेम्पल टाइगर गल्फको विजेता बने पूर्वप्रधानसेनापति राणा

सूर्यप्रकाश कँडेल

शनिबार, १८ माघ २०७६, १८ : ४९
टेम्पल टाइगर गल्फको विजेता बने पूर्वप्रधानसेनापति राणा

नवलपुर । टेम्पल टाईगर होटलको आयोजनामा भएको टेम्पल टाईगर गल्फ टुर्नामेण्टको उपाधि पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणाले जितेका छन् ।

नवलपुरको दुम्कौलीस्थित सिजी गल्फ रिट्रिटमा शनिबार सम्पन्न खेलमा राणा ३९ अंक प्राप्त गर्दै पुरुषतर्फ विजेता बनेका हुन् । राणालाई टेम्पल टाईगरका अध्यक्ष बसन्त मिश्रले एक समारोहबीच ट्रफी र मेडल प्रदान गरे । ब्रिगेडियर जनरल सुदर्शन सिलवाल पुरुषतर्फका उपविजेता भएका छन् । उनले ३८ अंक प्राप्त गरे । 

प्रतियोगितामा महिलातर्फ गीता गुरुङ विजेता र डाक्टर रिता थापा उपविजेता भएका छन् । गुरुङले ४१ अंक र थापाले ३८ अंक प्राप्त गरेका छन् । 

प्रतियोगिताको ग्रस विनर हरि थापा, सिनियर विनर रविन्द्रराज पाण्डे, बेस्ट ड्रेस पवित्रा याक्थुम्बा, मस्ट बर्डिज प्रदीपकुमार श्रेष्ठ, लङ्गेस्ट ड्राईभ सन्यग शाही र क्लोजेस्ट टु द पिन सुहृद घिमिरे घोषित भए । उनीहरु सबैले ट्रफी प्राप्त गरेका छन् । ३७ जना खेलाडी सहभागी यस प्रतियोगिताका सहभागीलाई क्याप्टेन सुधिर राईले धन्यवाद ज्ञापन गरेका थिए । 

नारायणगढदेखि खेल हेर्नका लागि सिजी गल्फ रिट्रिट पुगेका युवा व्यवसायी रुबिन रामुदामुले टुर्नामेन्ट हेरेर आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताए । "म सोमबार सधैँ  यहाँ गल्फ खेल्न आउँछु" उनले भने, "आज खेल हेर्न आएको थिएँ । गल्फर शिवराम श्रेष्ठबाट केही टिप्सहरु पाएँ । उपलब्धिमूलक भयो ।"

प्रतिक्रिया दिनुहोस