रघुजी पन्तले किन फेरे बोली ?

नेकपा स्थायी समिति बैठकमा एमसिसिको चर्काे विरोधमा रहेका रघुजी पन्त एकाएक पक्षमा देखिएपछि नेताहरु नै आश्चर्यमा परेका छन्

सफल खबर संवाददाता

शुक्रबार, १७ माघ २०७६, ०९ : ३७
रघुजी पन्तले किन फेरे बोली ?

काठमाडौं । नेकपा स्थायी समिति सदस्य रघुजी पन्त एक महिना अगाडीको पार्टी स्थायी समिति बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) का चर्काे आलोचक नेता मध्येका एक थिए । भीम रावल, देव गुरुङ, लिलामणि पोखरेल लगायतका नेताहरुकै हाराहारीमा उनी पनि एमसिसिको खरो आलोचनामा पर्थे ।

स्थायी समिति बैठक सकिन पाएको हुदैनथ्यो, बाहिर सञ्चारकर्मीका बीचमा आएर प्रतिक्रिया दिईहाल्थे,–‘एमसिसि सम्झौता राष्ट्रहित विपरित छ । यसलाई पारित गरेर जानै सकिदैन् । यो राष्ट्रहित विपरित छ । बैठकमा नेताहरुले यसमा चर्काे आवाज उठाईरहनु भएको छ ।’ तर पन्तले दुई साता यता देखि भने आफनो बोली फेर्न थालेका छन् । अहिले उनी एमसिसि पारित गरेर जानुपर्ने पक्षमा उभिन थालेका छन् ।

अमेरिकासँगको दीघर्कानिल लामो मैत्रीपूर्ण सम्बन्धलाई असहर गर्न सक्ने, त्यत्रो बजेट दानमा आएको र नेपालले गर्ने पर्ने प्रोजेक्टमा लगानी भएकाले यत्रो लगानी नेपालले गुमाउन नुहने तर्क अगाडी सार्न थालेका छन् । प्रधानमन्त्री ओलीसँग यो बीचमा एक पटक भेट गर्न पुगेपछि पन्तले आफनो बोली फेरेको नेकपाका नेताहरुका बीचमा अहिले चर्चा चल्न थालेको छ ।

उनले पार्टीको समुह छलफलमा पुगेर पनि एमसिसि पारित गर्नुपर्ने मत राखेका छन् । उनको एकाएक फेरिएको बोली सुनेर नेताहरु पनि आश्चर्यचकित परेका थिए । समुह ११ मा रहेका नेता पन्तले हिजो पेरिसडाँडा स्थित कार्यालयमा भएको छलफलमा पुगेर एमसिसि पारित गरेर जानुपर्ने तर्क राखे । पन्तको भनाई उद्धृत गर्दै सहभागी एक नेताले भने,–‘स्थायी समितिको बैठकमा मैले राखेको धारणा र अहिले राख्न लागेको धारणा एमसिसिका सवालमा फरक छ ।

एमसिसि त्यो बेला मैले पारित गर्ने हुनन् भन्ने धारणा राखेको थिए, तर अहिले पारित गर्नुपर्छ भन्ने धारणा राख्न खोज्दैछु । त्यो बेला मैले नबुझेर यस वारेमा आफ्नो टिप्पणी गरेको रहेछु, अहिले यो बीचमा मैले अध्ययनहरु गरे, उसको भन्दा पनि नेपाल पक्षकै केही कमजोरी सम्झौता गर्दा देखिएको रहेछ, तर यो राष्ट्रहित विपरित छैन्, अब यसमा यो त्यो भन्नु पर्दैन, पारित गरेर जाँदा हुने रहेछ ।’

एमसिसिमा दुई साता अगाडी सम्म चर्काे आलोचक मध्येका एक बनेका पन्त एकाएक बोली फेरेर बैठकमा कसरी आए ? नेताहरु नै उनको धारणा पछि मुखामुख गरेको सहभागी ति नेताले बताए । ‘उहाँले बोलि फेर्नुभएछ, एमसिसि पारित गर्नुपर्छ भन्नेमा पुग्नु भएको रहेछ,’ ति नेताले भने ।

अधिकाशं केन्द्रीय सदस्यले यथास्थितीमा एमसिसि स्वीकार गर्न नसक्ने धारणा राखिरहेका बेला आएको पन्तको पछिल्लो धारणा कतै उनले समिकरणमा गर्न खोजेको फेरबदल नै त होइन ? भन्ने प्रश्न पनि कतिपय नेताहरुमा उठेको देखिएको छ ।

खासगरी यस्तो संसय भने माधव नेपाल पक्षका नेताहरुमा देखिएको छ । उनी माधव नेपाल पक्षका नेता हुन् । नेपाल पक्षका सबैजसो नेता एमसिसि परिमार्जन नगरेसम्म पारित गर्ने नसक्ने अडानमा रहिरहदा पन्तको मात्र किन यस्तो अभिब्यक्ति आयो भन्नेमा अहिले आश्चर्यमा परेका छन् ।

समुहगत छलफलमा एमसिसिलाइ थप प्रष्ट पार्न पार्टी नेता र वुद्धिजिवि समेत संग्लन्न भएको अध्ययन कार्यदल बनाउनु पर्ने मत जर्बजस्त उठिरहेको छ । तर यस विषयमा नेकपाले अब के गर्छ ? त्यसका लागि भने बैठकको निर्णय नै कुर्नपर्ने अवस्था छ ।
 

प्रतिक्रिया दिनुहोस