नेकपाको केन्द्रीय समिति बैठक

‘रेनु दाहाल’ यसरी बनिन् सर्वसम्मत टिम लिडर

सफल खबर संवाददाता

शुक्रबार, १७ माघ २०७६, ०९ : ११
‘रेनु दाहाल’ यसरी बनिन् सर्वसम्मत टिम लिडर

काठमाडौं । नेकपाको केन्द्रीय समिति बैठक अहिले जारी छ । ४ सय ३८ केन्द्रीय सदस्य, ५ पदेन केन्द्रीय सदस्य र ३ आमन्त्रित सदस्य गरी कुल ४ सय ४६ जना बैठकमा सहभागी छन् । तत्कालिन एमाले र माओवादी केन्द्र बीचको पार्टी एकतापछिको यो दोश्रो पूर्ण बैठक भएपनि एजेण्डागत रुपमा छलफल भएको पहिलो केन्द्रीय समिति बैठक हो ।

बैठकमा अध्यक्षद्दयको तर्फबाट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । महासचिव विष्णु पौडेलले संगठनात्मक प्रतिवेदन र विधान संसोधन सम्बन्धि प्रस्ताव पेश गरेका छन् ।  

बैठकमा प्रस्तुत भएका यी तिनवटा प्रस्तावमाथी जम्बो केन्द्रीय समितिलाई एकै थलोमा राखेर छलफल गराउनु सम्भव हुने कुरा पनि थिएन । यही बीच नेकपाले जुक्ति निकाल्यो,– नेताहरुको समुह विभाजन गर्ने, त्यसरी विभाजित समुहहरुमा प्रतिवेदनहरुमाथी एक दिन छलफल गराउने र समुहबाट छानिएका टोली नेताले समुहमा उठेका सुझाव तथा टिप्पणीलाई लिखित रुपमा तयार पारेर पार्टी केन्द्रीय समिति बैठकमा २० मिनेटमा आफनो समहुका तर्फबाट रिपोर्ट प्रस्तुत गर्ने । 

नेकपा केन्द्रीय समिति बैठकमा सोही अनुसारको कार्यविधि पारित पनि भयो । र हिजो बैठकमा पेश भएका प्रतिवेदनहरुमा १५ वटा समुहमा विभाजित नेताहरुले दिनभर छलफल गरे । कतिपयले आफ्नो समुहको छलफल सकेका छन् भने केहीले आज बैठक बस्ने समय दिउँसो १ बजे अगाडी पनि थप छलफल गर्ने र समुहको अन्तिम रिर्पाेट तयार पार्ने तयारी गरेका छन् । समुह विभाजन पछि नेकपाभित्र समुहको टोली नेता को बन्छ ? सवैमा चासो र उत्सुकता थियो ।

केही समुहमा सहमति जुटन नसक्दा आधा आधा समय कुरा राख्ने गरी दुई जना सम्म टोली नेता बने । केहीमा लामो रस्साकस्सी चलेपछि टोली नेता चयन गर्ने झण्डै दुई तिन घण्टै नेताहरुले समय खर्चे । केहीमा अझैं टोली नेता चयन नै पनि भएको छैन् । तर समुह १२ को टोली नेता चयन गर्न भने ५ मिनेटको पनि समय नलागेको नेताहरुको भनाई छ । उक्त समुहवाट टोली नेता छानिएकी छिन्, – नेकपा केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल ।

यो समुहले टोली नेता छान्ने क्रममा नेताहरुले आफु बन्ने दौडमा लाग्दै लागेनन् । तत्कालिन एमाले तर्फका नेता रामेश्वर फूयाँलले टिम लिडर रेनु दाहाललाई बनाउन बैठकमा प्रस्ताव शुरुमै प्रस्तुत गरे । फूयााँलले टिम लिडर बन्न रेनुको नाम प्रस्ताव गर्ने बित्तिकै अन्य नेताहरुले पनि त्यसलाई सहज स्वीकार गरिहाले ।

‘महिला प्रतिनिधित्व पनि, ल हुन्छ रेणु जीलाई टिम लिडर बनाऔं,’ टिममा सबै नेताहरुले सर्वसम्मत साथ प्रस्तावमा समर्थन जनाए । त्यसपछि बनिन् टिम १२ को लिडर रेनु दाहाल । आज दिउँसो १ बजेवाट शुरु हुने केन्द्रीय समिति बैठकमा दाहालले आफ्नो समुहका तर्फबाट प्रतिवेदनमाथी लिखित सुझाव राख्नेछिन् ।

अझै टिम लिडर चयन गर्न नसकेको समुह १० मा भने बैठक अगाडी टिम लिडर छान्ने नेताहरुको तयारी छ । यो समुहवाट युवाराज चौलागाई, माधव सापकोटा र महेश बस्नेत टिम लिडर बन्ने दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस