आमरण अनसन बसेका त्रिपाठीको स्वास्थ्यमा समस्या

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, ०९ : २४
आमरण अनसन बसेका त्रिपाठीको स्वास्थ्यमा समस्या

काठमाडौं । नेविसंघको विधान कार्यान्वयन गर्न माग गर्दै आमरण अनसन बसेका नेविसंघका पूर्व केन्द्रिय सदस्य नवराज त्रिपाठीको स्वास्थ्यमा समस्या देखिनथालेको छ । अनसनको चौथो दिन आज डाक्टरहरुले औषधि खान आग्रह गरे पनि त्रिपाठीले अस्वीकार गर्नुभएको छ ।

उहाँको रक्तचापमा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उहाँले ३२ वर्ष उमेर हदको विधान कार्यान्वय नगर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन थालेको आज चौथो दिन भएको छ ।  त्यसैले नेविसंघले त्रिपाठीको जीवन रक्षाका आग्रह गर्दै शीर्ष नेतालाई एसएमएस पठाउने अभियान पनि थालेको छ ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको मोबाइलमा सभ्य र मर्यादित भाषामा सन्देश पठाएर त्रिपाठीको जीवन रक्षाको माग गरिएको हो । विधान कार्यान्वयनको माग गर्दै ४१ दिनसम्म रिले अनसन बस्दा पनि पार्टी नेतृत्वले माग प्रति कुनै सुनुवाई नगरेकाले बाध्य भएर आमशरण अनसन बस्नु परेको त्रिपाठीले बताउँदै आउनु भएको छ ।

त्रिपाठीले आफ्ना माग सम्बोधन नगरे पार्टीको झण्डा ओढाउन आउनुपर्ने चेतावनी नेतृत्वलाई दिनुभएको छ । त्रिपाठीले भन्नुभयो ‘रिले अनसनमा बसे पनि पार्टीका शीर्ष नेताहरु भागबण्डामा मात्रै केन्द्रित हुनुभयो, त्यसैले आमरण अनसनमा बसेको हौं। कि त माग पूरा गर्नुहोस् । किन पार्टीको झण्डा ओढाउन आउनुहोस् ।’

पार्र्टीले यसअघि नै नेविसंघको विधान संशोधन गरी  ३२ वर्ष मुनिका मात्र नेतृत्वमा आउन पाउने व्यवस्था गरिएपनि अहिले भागबण्डाका लागि सभापति शेरबहादुर देउवा र अरु शीर्ष नेताले नै विधान मिच्न थाल्नुभयो । त्यसैले आमरण अनसन बस्नु परेको त्रिपाठीको भनाइ छ ।

६ महिना भित्र महाधिवेशन गर्ने गरी गठन हुने तदर्थ समितिमा ९ जना महामन्त्री राख्ने नेताहरु बिचको सहमतिले पनि विधान मिचेको छ । विधानमा एक जना निर्वाचित  र एक जना मनोनित गरी २ महामन्त्री मात्र हुने व्यवस्था भएकामा उहाँहरुले भागबण्डाकै लागि ९ जना महामन्त्री राख्ने सहमति गर्नुभयो । यो सहमतिले समग्र संस्थाकै खिल्ली उडाएको छ ।

प्रतिक्रिया दिनुहोस