हेटौँडा । घडीमा रातको ११ः३० बजेको थियो । चुकजस्तो अँध्यारो रात चकमन्न थियो । पूर्वपश्चिम राजमार्गको हेटौँडा नगरपालिकाको मनहरि बजार सुनसानजस्तो थियो । राजमार्गमा एकदुई गाडी हुँइकिएका थिए ।
मनहरि बजारमा गाडीहरुकै भीडमा एउटा भारतीय कार देखियो । कारको नम्बर थियो बीआर ०६ जे ४४५८ । कार देखेपछि सडक किनारामा नियमित जाँचमा बसेका प्रहरी टोली कारलाई रोक्न निर्देशन दिए । कार रोकिएन । प्रहरी रोक्न आदेश दिँदै कारतर्फ अघि बढदै थिए । कार हुइँकियो । प्रहरी ट्वाल्ल पर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरे ।
‘जाँचमा बसेका प्रहरीलाई नटेरी एउटा कार भाग्दै आएको छ’ प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई सूचना दिए । मनहरीबाट भाग्नेबित्तिकै प्रहरीले हेटौँडा नगरपालिकामा कारलाई रोक्ने प्रयास गरेको थियो । त्यहाँ पनि कारले बलजफ्ती प्रहरीलाई पेलौँला झैँ गरेर कार हुइँकियो । यहाँ पनि प्रहरीले कारलाई रोक्न सकेनन् ।
‘मकवानपुरबाट भागेको भारतीय कार नगरपालिकाबाट पनि भाग्न सफल भएको छ’ प्रहरीले थप प्रहरीहरुलाई सूचना दियो । भारतीय नम्बर प्लेटको कार दुई ठाउँबाट भागेपछि प्रहरीले यो सूचना सबै आफ्नो युनिटमा हावासरी फैलायो र तत्काल नियन्त्रणमा लिन आदेश दियो । कारलाई नियन्त्रणमा लिन वडा प्रहरी कार्यालयका हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा ट्राफिक प्रहरीसहित बाटो छेक्न सडकमा टोली निस्कियो । यद्यपि, कारको गति घटेन ।
प्रहरीले हवाइ फायर गर्दै कारलाई रोक्न आदेश गरेको थियो, तर पनि कार बेपत्तासँग छारो उडाउँदै बत्तियो । कार अझै तीब्र गतिमा भैरबडाँडातर्फ अघि बढ्यो । प्रहरीको आदेश पालना भएन ।
प्रहरीटोली गाडी चढेर कारको पछिपछि लागे । तर पनि कार अझ तीव्र गतिमा दौडियो । कार नरोकिने संकेत पाएपछि अन्तिममा प्रहरीले कारको पछाडिको चक्कामा गोली हान्यो । बल्ल कार रोकियो ।
प्रहरीले कारलाई घेरा हाले र किन नरोकेको भन्दै जवाफ मागे । ‘बिरामी लिएर हिँडेकाले रोक्न सकिएन’ कारमा सवार एक व्यक्तिले भने ।
‘को हो बिरामी ?’ प्रहरीले सोधे । कारको अन्तिम सिटमा एक जना महिला थिइन्, बिरामी जस्तै पल्टिएकी थिइन् । उनले भनिन्, ‘म हो बिरामी ।’
प्रहरीलाई शंका लाग्यो र गाडीभित्र खानतलासी गर्न थाले ।
भेटियो ३२ किलो गाँजा
मकवानपुरका प्रहरी प्रमुख सुशीलसिंह राठौरले कार खानतलासी गर्दा ३२ किलो गाँजा भेटिएको बताए । ‘कारभित्र फल्स बटम बनाएर १६ वटा पोकामा ३२ किलो लागूऔषध गाँजा लुकाएको भेटियो’ प्रमुख राठौरले भने ।
प्रहरीले कार चालक ३५ वर्षीय सञ्जित पासवान, विरामी कुरुवाको नाटक गर्ने ३५ वर्षीय अजैमल हवारी र आफूलाई बिरामी भन्ने ४५ वर्षीया जाहेरा खातुनलाई पक्राउ गर्न सफल भयो । उनीहरु सबै भारतको मुजफ्पुरका हुन् ।
बसको ठक्कर
पक्राउ पर्नेहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, मकवानपुरतर्फ ल्याउने क्रममा प्रहरीको ना १ झ १४१७ नम्बरको मोबाइल भ्यानलाई बसले ठक्कर दियो ।
हेटौंडा–११, राप्ती पुल छेऊ भएको घटनामा ५ जना प्रहरी घाइते भए । घाइते हुनेमा प्रहरी निरीक्षक भण्डारीसहित हवल्दार नरबहादुर राई, शुक्रराज खत्री, प्रहरी जवान समुन्द्र श्रेष्ठ र सुरेश कुमाल छन् । घटनामा गाँजा तस्करी गर्ने खातुन पनि घाइते भइन् ।
अन्य दुई जना तस्कर भने अर्को गाडीमा भएकाले दुर्घटनाबाट जोगिए ।
प्रहरी भ्यानलाई ठक्कर दिने काँकरभिट्टाबाट धनगढीका लागि छुटेको ना ५ ख ५५८२ नम्बरको बस र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ माघ २०७६, १७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा पानीको लाइनमा बसिरहेका बालबालिकासहित १० जना मारिए, इजरायली सेनाद्वारा गल्ती स्वीकार
दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ
मोरङबाट ८०२ किलो गाँजा बरामद
गाजाले युद्धविराम प्रस्ताव नमाने गम्भीर परिणाम भोग्न इजरायली चेतावनी
१०७४ किलो गाँजासहित चार जना पक्राउ
करिब १ सय २० किलो गाँजासहित दुई जना पक्राउ