काठमाडौँ । मुलुकमा विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत तथा साधन पर्याप्त मात्रामा उपलब्ध नभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा प्राधिकरणले वर्तमान अवस्थाबारे जानकारी गराउँदै यस्तो अवस्था देखिएको स्पष्ट पारेको हो।
प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वाधार र उपकरणको कमी पूर्ति गर्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको छ। उनले विशेष गरी मनसुनजन्य विपद्का बेला हवाई उद्धारका लागि आवश्यक हेलिकप्टर, डुंगा तथा ड्रोन जस्ता साधन व्यवस्थापनमा निजी क्षेत्रको सहयोग लिनुपर्ने अवस्था रहेको बताए।
उनका अनुसार अघिल्लो वर्ष जस्तै यस वर्ष पनि आवश्यक सामग्रीको अभाव पूर्तिका लागि सहकार्यको अभ्यासलाई निरन्तरता दिइएको छ।
त्यसैगरी प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तहलाई ढल तथा खोलानाला अवरुद्ध नहुने गरी सरसफाइ तथा पूर्वतयारी गर्न निर्देशनात्मक पत्राचार गरिएको जनाएको छ।
कार्यकारी प्रमुख भट्टले विपद् व्यवस्थापनको कार्यमा स्थानीय सरकारको भूमिका निर्णायक रहने भएकाले सोहीअनुसार तयारी र समन्वय सुदृढ पारिँदै लगिएको जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० बैशाख २०८३, १४ : ४५
लेखकबाट थप